दीपक मनाङेलाई सिआइबी कार्यालयमा ल्याइयो ,अदालत पेश गर्ने तयारी
काठमाडौँ - गण्डकी प्रदेशका सांसद दीपक मनाङेलाई नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा ल्याइ पुर्याइएको छ । उनलाई बिहानै काठमाडौँको सानो भर्याङस्थित द कम्फर्ट अपार्टमेन्टबाट सिआइबीको टोलीले पक्राउ गरेको हो।
सिआइबीले मनाङेलाई कानुनी प्रक्रिया अनुसार मंगलबार नै काठमाडौँ जिल्ला अदालतमा पेश गर्ने तयारी गरेको छ। अदालतमा उपस्थित गराएपछि कारागार चलान गरिने छ ।
मनाङे ज्यान मार्ने उद्योग मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए।
२०६९ सालमा तत्कालीन पुनरावेदन अदालत, पाटनले उनलाई चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा पाँच वर्षको कैद सजाय सुनाएको थियो। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पुनरावेदन अदालतको उक्त फैसला सदर गरेपछि मनाङे पुनः दोषी ठहर भएसँगै भुक्तान हुन बाँकी सजाय काट्नु पर्ने भएको छ ।
यसअघि केही समय जेल बसेर छुटेका मनाङे २०७९ सालमा मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा मनाङबाट विजयी हुँदै गण्डकी प्रदेशमा पटक–पटक मन्त्री पदमा पनि रही सकेका छन् ।