सहकारी प्रकरणः रवि लामिछानेलाई राखिएको जहाज पोखराबाट भैरहवा उड्यो
काठमाडौं– सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई राखिएको जहाज पोखराबाट भैरहवाका लागि उडेको छ।
रास्वपा केन्द्रीय सदस्य समेत रहेका लामिछानेका निकटस्थ दीपक बोहोरालो सामाजिक सञ्जालमा छोटो भिडिओ राखेर पोखराबाट जहाज उडेको जानकारी दिएका छन्।
बुद्ध एयरको जहाजबाट रुपन्देहीका लागि उड्न लागेका रास्वपा सभापति रवि लामिछाने एक घन्टा बसेर फेरि पोखरा विमानस्थलको प्रतिक्षालयमा फर्किएका थिए।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट रुपन्देही प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयमा सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछानेलाई लग्न जहाजमा राखिएको थियो।
तर भैरहवाको भिजिबिलिटी नभएपछि जहाज डिले भयो। जहाजभित्र एक घन्टा बसेपछि रेस्टका निम्ति फेरि प्रतिक्षालयमा जाने रविको चाहनाअनुसार नै राखिएको प्रहरीले लगेको थियो।
भैरहवाको भिजिबिलिटीमा सुधार आएपछि जहाज उडेको हो। बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा पनि जाहेरी परेका कारण बयानका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालयसहित अदालतमा लामिछानेलाई उपस्थित गराउन लागिएको हो।
उता रास्वपाका कार्यकर्ताले भैरहवामा प्रदर्शनको तयारी गरेका छन्। बिहानैदेखि लामिछाने आउनासाथ प्रदर्शन गर्ने तयारीमा कार्यकर्ता रहेका छन् भने सुप्रिम सहकारीका पीडित बचतकर्ताले पनि प्रदर्शन गर्ने भएका छन्।