Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनीमा खुलेर लगानी गर्न मुख्यमन्त्री आचार्यको अपिल

मंगलबार, कात्तिक २७, २०८१

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा खुलेर लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष आह्वान गरेका छन् ।

चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनीमा उद्योग, पर्यटन, कृषि, फलफूल, जडीबुटी प्रशोधन र स्वास्थ्य क्षेत्रबाट लाभ लिन सकिने प्रचुर सम्भावना रहेकाले लगानी गर्न आह्वान गरेका हुन् ।लुम्बिनी प्रदेशभित्र कुनै पनि क्षेत्रमा सिचुआनलगायत जुनसुकै प्रान्तबाट इच्छुक लगानीकर्ताको लगानी भित्राउन र लगानी सुरक्षित गर्न आवश्यक नीतिगत सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको समेत मुख्यमन्त्रीले प्रतिबद्धता जनाएका छन् ।

लुम्बिनी प्रदेशले छिटै लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिँदै मुख्यमन्त्री आचार्यले सम्मेलनमा सहभागी हुन कूटनैतिक नियोग मार्फत पत्रचार हुने जानकारी गराए ।

लुम्बिनीमा हुने लगानी सम्मेलनमा सिचुआन प्रदेश सरकार, निजी क्षेत्रका लगानीकर्ताहरू, कम्पनीहरू, संघ-संस्थालाई सहभागी हुन मुख्यमन्त्रीले अनुरोध गर्दै मुख्यमन्त्री आचार्यले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको एक महत्त्वपूर्ण र नमुना स्थल बनाउन लुम्बिनीमा लगानी भित्राउन आवश्यक रहेको बताए ।

सम्मेलनमा मुख्यमन्त्री आचार्यले बौद्ध पर्यटनको विविधिकृत विकासका लागि घनिष्ट सहकार्य गर्न आग्रह गरे ।

मुख्यमन्त्रीले सिचुआन सरकार, सिचुवानबासी समुदाय तथा आम चिनिया जनतालाई लुम्बिनी भ्रमण गर्न आमन्त्रण समेत गरेका छन् ।

सिचुआन सरकारसँग भएको भगिनी सम्बन्धलाई प्रगाढ बनाउन छेन्दु र भैरहवा बीच सिधा हवाई सेवा सञ्चालन गर्न मुख्यमन्त्रीले आग्रह गरे । सिधा हवाई सेवा सुरु हुँदा लाखौँ बौद्धमार्गी चिनियाँलाई लुम्बिनीमा ल्याउन सकिने मुख्यमन्त्रीले बताए ।

सम्बोधनको क्रममा मुख्यमन्त्री आचार्यले चिनिया विकास मोडेल, प्रविधि तथा समृद्धिबाट नेपालले सिक्न चाहेको बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्