Nic Ad Nic Ad
Nic Ad Nic Ad

धर्मका नाममा राजनीति र अतिवाद हुन हुँदैन: प्रधानमन्त्री

मंगलबार, कात्तिक २७, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले धर्म निरपेक्ष मुलुक नेपालमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीतिकरण भएमा त्यसले समाजलाई बिथोल्ने बताएका हुन् ।

“नेपालमा एकातिर हिन्दू राज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर क्रिश्चियन धर्म विस्तार गर्ने नाममा मानिसको गरिबीको दुरुपयोग गरिएको छ ।’’, प्रधानमन्त्री ओलीले भने “यस्ता कुराहरूलाई हामी क्रमशः नियन्त्रण गर्छौँ । हामीले कुनै पनि धर्मका नाममा असहिष्णुता र संकीर्णता राख्नु हुँदैन । कुन धर्म मान्ने भन्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा हो । त्यसको हामी सम्मान गर्छौ ।’’

भेटका अवसरमा आचार्य श्री महाश्रमणजीका शिष्य मुनि रमेशकुमार र मुनि रत्नकुमार लगायतले समाजमा नैतिकता, सद्भावना, मानव एकता, नशाबाट मुक्ति र शान्तिका लागि आफूहरूले गर्दै आएका कामबारे अवगत गराएका थिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्