Nic Ad Nic Ad
Nic Ad Nic Ad

कास्की हिरासतमा ९० दिनसम्म रवि लामिछानेलाई राखिन सक्छ, पछिल्लो १३ दिन थपको कारण अर्कै

मंगलबार, कात्तिक २७, २०८१

काठमाडौं– सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरिएका दिन कात्तिक २ गतेदेखि गणना हुनेगरी कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा ९० दिनसम्म राख्न सकिने सम्भावना रहेको छ। 

सहकारीको रकम अपचलनका लागि कम्तिमा ३ दिनसम्मको बयानका लागि पोखराबाट भैरहवामा लगिएका रवि लामिछानेलाई अनुसन्धान गर्नका लागि पछिल्लो समय कास्की जिल्ला अदालतले १३ दिनको म्याद थप गरेको थियो। 

उक्त म्याद थप सहकारीको रकम अपचलनका लागि नभएर सम्पत्ति शुद्धिकरणको मुद्दामा रहेको जिल्ला अदालत कास्कीले क्यानडा नेपाललाई जानकारी दिएको छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार तीनै मुद्दामा समानान्तर हिसाबले अनुसन्धान जारी राखिएको छ। तर ९० दिनसम्म हिरासतमा राख्नका लागिचाहिँ सम्पत्ति शुद्धिकरणको मुद्दा आकर्षित हुन्छ। जसको विषयमा अदालतले पछिल्लो पटक १३ दिन म्याद थपेको छ।

‘अघिल्ला तीन चरणका म्याद थप सहकारीको रकम अपचलनको अनुसन्धानका लागि थियो तर यस पटक भने सम्पत्ति शुद्धिकरणको मुद्दामा हो’, जिल्ला अदालत कास्की स्रोतले भन्यो,‘सुरुका दिनदेखि नै गणना हुनेगरी यो म्याद थपिएको र कायम रहन सक्छ।’

यसको अर्थ प्रहरीले अनुसन्धानका लागि पाउने ९० दिनको सुविधालाई उपयोग गर्न सक्नेछ। या त अनुसन्धान सकिएको खण्डमा त्यसअघि नै प्रहरीले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने र अभियोजनमा जान सक्ने सम्भावना पनि रहन्छ। 

तर उच्च स्रोतको दाबी छ,‘तीन वटा मुद्दाको अभियोजनको प्रतिवेदन तयार पार्न समय लाग्ने भएकाले अझै अनुसन्धानका लागि म्याद माग हुनेछ।’
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्