ओली र रवि लामिछानेको एउटा राजनीतिक समानता ‘इलोक्वेन्स’
काठमाडौं– हठात् टेलिभिजनको 'स्क्रिन' त्याग्यो र राजनीतिमा प्रस्थान गर्ने निर्णयमा पुग्यो एउटा रवि लामिछाने।
संगठन कसरी बन्छ, त्यसको प्रारूपको पूर्वतयारी लगभग थिएन। जति नै नकारात्मक बिम्बलाई पनि चिर्न सक्ने र गरेका गल्तीलाई पनि ढाक्न सक्छु भन्ने ‘आत्मरती’को थुप्रोबीच राजनीतिक दल घोषणा गर्नु एउटा चातुर्यता थियो।
निजी जीवनमा पनि जबरजस्त उकाली ओरालीमा आफूलाई जित निकाल्दै आउनु एउटा संयोग थियो।
अर्कोचाहिँ, आत्महत्या दुरुत्साहन मुद्दामा अदालतमा बयान दिन जाँदा, सुनुवाईका क्रममा टेलिभिजनमा चलाएको कार्यक्रमको प्रभावले देखाएको बाहिरी आक्रोशको सपोर्ट।
अदालतले के गर्छ थाहा छैन, तर चितवन जिल्ला अदालत त्यसबेला भिडसँग डराएकै थियो।
अदालत भिडसँग डराउँछ भन्ने त्यो आत्मरतीका कारणले नै लामिछानेले पहिलो पल्ट म्याद थप्न जाँदा कास्की जिल्ला अदालत परिसरमा भनेका थिए,‘पोखराका सर्वसाधारण घर–घरबाट निस्कनुस्। ओली सरकार रहेसम्म केही हुनेवाला छैन।’
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण जस्ता तीन बलिया अभियोगबीच लामिछानेलाई लाग्छ– उनी छुट्नेछन्।
यी कानुनी र अदालती प्रक्रिया एकातिर हुनेछन्। तर, लामिछानेसँग यत्रो आत्मबल रहनुको कारण के होला? यहि अचम्म मानिरहेका होलान् उनका बिरोधी।
कुनै बेला एमालेमा कर्नर रहँदा र पराजित हुँदा पनि केपी शर्मा ओलीको एउटा भयानक प्रभाव थयो। त्यसकारण मिडियाले नै कुनै पदासिन नरहँदा पनि ओलीलाई एउटा नाम दिएको थियो ‘प्रभावशाली नेता’।
रवि लामिछानेहरू अमेरिकामा मस्तराम रहँदा ओली अहिलेका रविभन्दा पनि चर्का थिए। उनको प्रभाव साँच्चै नै बलियो थियो। एमालेको एउटा पंक्ति उनीसँग नतमस्तक थियो अनि माओवादीको अर्ध सैनिक बल भनेर प्रचार गरिने योङ कम्युनिस्ट लिग (वाईसीएल)को जगजगीमा धक्का लागेको थियो।
राजनीतिमा मौका पाउनासाथ दनक दिन सक्ने क्षमता ओलीमा जति थियो, अहिले रविमा त्यहि हावी भएको देखिन्छ। त्यो समानता हो, दुवैबीचको।
यो समानताको अंग्रेजी नाम हो– इलोक्वेन्स। अर्थात् नेपालीमा वाकपटुता।
मौकामा कहाँ के बक्तव्य दिने ओली मास्टर हुन् भने रवि यसका अर्का ‘ग्याङग्स्टर’ प्रमुखका रुपमा स्थापित हुने क्रम बढेको छ। नेता बनाउन ‘दी लिडर’ कार्यक्रमको घोषणा गरेका रवि आफैं ‘लिडर’ बन्ने ध्येयमा अघि बढे।
यहाँसम्मकी उनको यो वाकपटुताले गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एउटा निम्न स्तरको प्रतिनिधित्व सदनमा देखाउन सक्षमता देखायो। त्यो, रविको इलोक्वेन्सको प्रभाव थियो।
त्यसैले रुपन्देही सरकारी वकिलको कार्यालयमा बयान सकेर निस्कँदै गर्दा उनले त्यसको तीन सकेन्डको प्रयो गरे,‘बाघ पिंजडामा भएर स्याल हुँदैन।’
यति मात्र होइन यी कस्ता नयाँ प्रवृत्तिका तानाशाही स्वभाव भएका राजनीतिज्ञ निस्किए भने ओलीको भूमिका पनि गौण हुने जस्तो देखिन थाल्यो। आफू हिरासतमा हुँदा पार्टीका नियमित कार्यक्रमको निर्णय गर्ने केन्द्रीय समितिको बैठकमा अध्यक्षता गर्ने कार्यबाहक अध्यक्ष समेत तोकेका छैनन्।
यो पहिलो उदाहरण होइन। अघिल्लो पटक नागरिकता प्रकरणमा सांसद पद र पार्टी अध्यक्षता जाँदा पनि उनले यहि शैली अपनाए, न कार्यबाहक अध्यक्ष बनाइयो न त संसदीय दलको नेता नै।
वाकपटुतामा खप्पिस रवि संसारका पहिलो राजनीतिकर्मी होइनन्।
एडोल्फ हिटलर र बेनिटो मुसोलिनी जस्ता तानाशाहहरू आफ्नो वक्तृत्वका कारण ठूलो मात्रामा प्रख्यात भए। इरानी क्रान्तिमा, रुहोल्लाह खोमेनी आफ्नो भाषणमार्फत आंशिक रूपमा सत्तामा आए, उनी निर्वासनमा हुँदा अडियो क्यासेटहरूमा देशमा तस्करी गरी विक्रि गरियो।
राज्यका तीन अंग मध्य न्यायीक क्षेत्रमा पुगिसकेको मुद्दामा आन्दोलन गर्न लगाएर लामिछाने मौका पाउनासाथ आफू बोलेर प्रभाव जमाउने रणनीतिमा छन्।
यीनै हुन् जसले अहिले गोरखा मिडिया प्रालिमा रकम अपचलन गरेको अभियोगमा हिरासतमा बस्दा पनि रकम कहाँबाट आयो भन्ने ‘थाहा छैन’ भन्छन्।
म्याद थपको सुनुवाईका क्रममा अधिक बोलेका कारण न्यायाधीशले नै ‘यो तपाईको टेलिभिजन शो’ होइन भनी सम्झाउनु परेको थियो। हिरासतबाहिर बस्न पाउनुपर्ने उनको अडान भनेकै ‘इलोक्वेन्स’मा विश्वास छ भन्ने आत्मरती रहेको ठहर्छ।