फिल्म ‘तेल भिसा’का निर्माताले डेढ करोड ठगी गरेको प्रहरीमा निवेदन, अर्को पनि विवाद छ
काठमाडौं– प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तेल भिसा’का निर्माताद्वय शंकर घिमिरे र ऋचा घिमिरेले डेढ करोड ठगी गरेको निवेदन जिल्ला प्रहरी परिसर काठमाडौंमा परेको छ।
निर्माता तथा निर्देश शंकर हुन् भने निर्मात्री ऋचा हुन्।
उनीहरूले पैसा लिएर पनि अमेरिका नलगेपछि पीडितहरूले प्रहरीमा निवेदन दिएका हुन्। प्रहरीमा परेको जाहेरीमा ‘न अमेरिका लगेको न त पैसा नै फिर्ता गरेको’ भन्दै कारबाहीको माग गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका उपरिक्षक (एसपी) नवराज अधिकारीले निवेदन परेको पुष्टि गरे। उनले क्यनडा नेपालसँग भने,‘निवेदन परेको छ दुवै पक्षलाई राखेर छलफल गराइन्छ। अन्यथा कानुन बमोजिम हुन्छ।’
उता यो जोडी भने अमेरिका गएका नेपालीले कस्तो दुःख पाउँछन् भनेर दुःख देखाउन फिल्म ‘तेल भिसा’को निर्माण गरेर अहिले प्रचारमा व्यस्त छन्।
उनीहरूले वीपिन कार्की, वर्षा राउत लगायतका कलाकारलाई अमेरिका लगेर फिल्मको सुटिङ गरेका थिए। यता फिल्म रिलिजको मिति तोकेर प्रचारमा हिँड्नु पर्ने बेलामा ठगीमा प्रहरी हिरासत जाने जोखिम बढेको छ।
यसैबीच यो फिल्मको नाममा अर्को विवाद समेत सुरु भएको छ। अमेरिकालगायतमा रहेका कतिपय नेपालीले सबै जनाले तेल भिसामा आमाबुवा ल्याउने भनेर राखिएको नाममा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुक, टिकटकमा फिल्मको नाम गलत भएको भन्दै कतिपय व्यापारी र प्रतिष्ठित मानिसको जीवनलाई समेत प्रभाव पार्नेगरी नाम राखिएको भनी आपत्ति जनाइएको हो।
‘आफू काठमाडौंमा कमाएर मेसो मिलाएर अमेरिका आउने अनि आफूले जस्तै सबैले तेल भिसामा आमाबुवा ल्याउँछन् भन्ने देखाउने नामप्रति आपत्ति छ’, सञ्जालमा व्यापक भइरहेका भिडिओहरूमा उल्लेख छ।