Nic Ad Nic Ad
Nic Ad Nic Ad
अपराधबाट राजनीति

छद्म नामका कारण जेलबाट निस्किने ‘ग्याङस्टर’ मनाङे, पार्टी बैठकमै मुक्का मारी गर्थे

बुधबार, कात्तिक २८, २०८१

काठमाडौं– मिलन गुरुङ उर्फ ‘मिलन चक्रे’माथि गरेको खुकुरी प्रहारका कारण २० बर्षपछि राजीव गुरुङ उर्फ दीपक मनाङे अब ३२ महिनाका लागि जेल पुगेका छन्।

मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरी अदालतमा बुझाएपछि जेल चलान गरिएको थियो। 

सितापाइलामा रहेको कम्फर्ट हाउजिङमा केटी साथीको फ्ल्याटमा ब्रेक फास्ट गरिरहेका मनाङेलाई सीआईबीले समातेको थियो। 

मनाङेले चार जनासँग विवाह गरेका कारण पारिवारिक जीवन सुखद हिसाबमा नचलेको पुष्टि हुन्छ। 

पासाङ डोमादेखि छिदेन डोल्मा लामासम्मलाई मनाङेले छाडेका थिए। 

ठमेलमा संचालन हुने होटल, रेष्टुरेण्ट, डान्सबार, ट्राभल्स एजेन्सी, कार्गो अनि सुपरमार्केटमा प्रभाव पारेर हप्ता असुल्दै अगाडि बढेको मनाङेको अपराध यात्रा २० वर्षको दौरान अर्थात् २०६० पछि भने संगठित र प्रभावशाली बनेको थियो। 

त्यस क्रममा पनि पक्राउ गरिए पनि उनी छद्म नामका कारणले छुट्ने गर्दथे। उनलाई पक्राउ गरी विभिन्न पटक जेल यात्रा गराउने एक पूर्वप्रहरी अधिकारी भन्छन्,‘दीपक मनाङे भनेर मुद्दा चलायो उचाहिँ मेरो नाम राजीव गुरुङ हो भनेर कागज मिलाएर निस्कन्थ्यो।’

प्रहरीले गुन्डाराजलाई अन्त्य गर्नका लागि इन्काउन्टरको शिलशिला सुरु गरी दिनेश अधिकारी चरी, कुमार श्रेष्ठ घैंटेलगायतलाई गोली ठोक्न थालेपछि मनाङे राजनीतिक यात्रामा लागे। 

तर, राजनीतिक दलका बैठकभित्र उनको आलोचना भए मुक्कामारीमा उत्रन्थे।

पछिल्लो पटक उनले गण्डकीका युवा तथा खेलकुद मन्त्री हुँदा  धौलागिरिका ४ वटा जिल्लाका सुरक्षा समन्वय बैठकका क्रममा मन्त्रालयका शाखा अधिकृत प्रकाश ओझा मुक्का प्रहार गरेका थिए। 

तत्कालिन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रमुख सचिव रविलाल पन्थ लगायतलाई यसको जानकारी थियो। 

राजनीतिमा राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछि उनी मनाङको जिल्ला अध्यक्ष भए। २०७४ असोजमा उनी एमालेमा प्रवेश गरे। 

२०७९ को निर्वाचनमा पनि उनी पुरानै क्षेत्रबाट उम्मेदवार बने। उनीविरूद्ध कुनै दलले उम्मेदवारी दिएन र निर्विरोध सांसद भए।

मनाङेले फिल्म समेत निर्माण गरेका थिए। पछिल्लो पटक मात्र उनले ‘कंगारु’ फिल्म बनाउने उद्घोष गरेका थिए। त्यसअघि छोरा सिद्धार्थ गुरुङलाई अभिनेता बनाउँदै ‘वान–वे’ निर्माण गरेका थिए। 

प्रहरी अनुसन्धानमा मनाङेको ठमेलस्थित सेफ स्टार होटल र सो होटलको जग्गामा ५६ करोड लगानी रहेको उल्लेख छ।

मनाङे २०५९ सालबाटै पक्राउ पर्न थालेको देखिन्छ। पहिलो पटक २०५९ भदौमा धनमाल डाँका मुद्दामा पक्राउ परेका थिए। उनी २०६० पुस ११ मा पक्राउ परे। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो। 

दोस्रो पटक, २०६१ चैत १८ मा उनी मिलन गुरुङ भन्ने चक्रे मिलनलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ परेर जेलै पुगे। २०६३ फागुनमा गोली हानेर हत्या प्रयास गरेको आरोपमा पुन समातिए।

२०६५ फागुन १ मा उनी सार्वजनिक अपराधको आरोपमा पक्राउ परेर मुद्दा नै चलेको थियो। २०६८ जेठमा उनी कुटपिटको आरोपमा समातिए। २०६९ चैतमा उनलाई ठगीको आरोप लाग्यो। २०७० मै उनी नेपाली सेनाका एक मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेर १ वर्ष ६ महिना जेल पुगे।

२०७० जेठ ५ मा अवैध सम्पत्तिको अभियोगमा समातिए उनी। यसमा धरौटी निस्किए लगत्तै २०७० चैत १४ मा पुनः सार्वजनिक अपराध गरेको आरोपमा काठमाडौँमा समातिए। ०७३ असारमा उनीमाथि संगठित अपराधको आरोप लाग्यो र समातिए।

०७४ वैशाखमा उनी सार्वजनिक अपराधको आरोपमा समातिए। २०७५ माघ ३ मा चक्रे मिलनको हत्या प्रयासको अभियोगमा ३२ महिना कैद बस्न बाँकी रहेको खुलेपछि उनी पुन पक्राउ परेका थिए।

२०७६ माघमा एन्फा पोखराका अध्यक्ष मिलन गुरुङलाई कुटेको आरोपमा पक्राउ परे। उनी ६ हजार धरौटीमा दुई दिनमै रिहा भएका थिए।

त्यसो तत्कालिन हनुमानढोका प्रहरीले मनाङेको इन्काउन्टर नै गर्न खोजेको थियो। तर ड्युटीमा खटाइएको कमान्डरले गोली चलाउन नसक्दा फिर्ता बोलाइएको स्मरण तत्कालिन हनुमानढोका प्रमुखले बताएका छन्।

अहिले डिल्लिबजार कारागारमा रहेका मनाङे १९ बर्षअघि आफैंले बनाएको टहरामा बस्दै आएका छन्।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्