कुलमानलाई पत्रकारका ५ प्रश्न, उनी भन्छन्– मैले कसैलाई मुद्दा हाल्न लगाएको छैन
काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूसहित सरकारविरुद्ध कसैलाई मुद्दा हाल्न नलगाएको जवाफ
दिएका छन्। बुधबार पत्रकार सम्मेलनका क्रममा घिसिङले यस्तो बताएका हुन्।
उनलाई प्राधिकरणका कानुनी सल्लाहकारको ल फर्मका कर्मचारी खडानन्द अधिकारीमार्फत सर्वोच्च अदालतमा रिट हाल्न लगाएको चर्चा सतहमा आएको थियो।
घिसिङसँग पत्रकारले सोधेका ५ प्रश्न र त्यसका उत्तर यस्ता छन्।
तपाईले आफ्नै वकिलबाट मुद्दा हाल्न लगाउनु भयो ?
नेपालको नागरिकले मुद्दा दर्ता गर्न पाउँछ । सार्वजनिक सरोकारको बिषय हो । मैले लगाइराख्नै पर्दैन । यहि बिषयमा पहिले पनि धेरै मुद्दा गएका छन् । लाल आयोग गठन भएको छ कि छैन भन्ने पनि मुद्दा छ । लाल आयोग लागू गरेको ठिक छ कि छैन भन्ने पनि मुद्दा छ । त्यस्तो खालको काम हामीले गरेका छैनौँ र गर्ने पनि छैनौँ ।
प्रिमियमको कुरालाई लिएर तपाईले प्राधिकरणलाई जोखिममा रहेको भनेर बढाइचढाइ गर्नु भयो कि ?
बक्यौता उठाउन खोज्दा उद्योगीहरूले तिर्न अटेर गरेका छन् । त्यो नतिर्न अनेक निर्णय हुन थालेको छ । त्यो बक्यौता नउठ्दा अरू पनि उठ्न कम हुन थालेका छन् । नागरिकले पहिले त्यो अरबौँ उठाउँनु अनि मात्र हामीसँग उठाउन आउनु भन्न थालेका छन् । त्यसले गर्दा प्राधिकरणलाई समस्या पर्छ भनेको हुँ ।
प्रिमियम भन्दा अरू पनि थपेर तिर्न भन्नु भएको छ रे ?
प्रिमियम मात्र लगाएको छ । मिटरमा जोडेर प्रिमियम लगाइएको हो । अरू केहि लगाइएको छैन । लाल आयोग, अदालत र सम्बन्धित निकायले भनिसकेको छ । अरूले भन्नु पर्ने कुरा पनि होइन । लाल आयोग अनुसार नेपाल सरकारले निर्णय गरेर दिएको छ । नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार हामी चल्नु पर्ने हो । हामीले त्यहि गरिरहेका छौँ ।
तपाईले प्रमाण दिन सक्नु भएन भन्ने कुरा छ त ?
हामीले पटक पटक भनेका छौँ । हामीले एक्सेलमा नै पठाएका छौँ । टिओडी मिटरमा कति खपत थियो, त्यसको शुल्क कति हो भनेर एक्सेल सिट नै पठाएका छौँ । समितिमा त मैले दुइ दुइ घण्टा छलफल गरेको छु । मैले १ लाख पेजको कागजात नै पठाएको छु । यो त मैले अहिले आएर बिल देखाउने भन्ने कुरा नै होइन । कि त अदालत वा कानूनी निकायले भनिदिनु पर्यो । हामीबिचमा नै विवाद आए पछि हामीले मात्र मिलाउँन सक्ने कुरा होइन । सम्बन्धित निकायले नै बिल ठिक छ भने पछि हामीले के भन्ने ?
भारतबाट बिजुली महँगोमा ल्याउनुभयो, त्यसमा कमिशन खायो भन्ने आरोप छ नि?
इन्डियाबाट महंगोमा लिएको विद्युत भनेर गलत प्रचार गरेको छ । हामीले दैनिक बिडिङ गरेर लिने हो । बेच्दा पनि त्यसरी नै बेच्ने हो । दैनिक बिडिङ गरेर ल्याएकोमा कसरी भन्न सक्नु हुन्छ कमिसन खायो भनेर ? यो गलत आरोप हो ।