कांग्रेसका मन्त्री र सांसदको जुहारी, सांसद बजगाँईलाई पाण्डेले मुद्दा हाल्ने
काठमाडौं– नेपाली कांग्रेसबाट पर्यटनमन्त्री बनेका बद्री पाण्डे र सांसद राजेन्द्र बजगाँईको जुहारी सुरु भएको छ।
पाण्डेले करोडौं रकम घुस खाएर क्यासिनो चलाउने अनुमति दिएकोलगायतका आरोप लगाएका बजगाईलाई मन्त्री पाण्डेले मुद्दा हाल्ने तयारी गरेका छन्।
इमान, इज्जत र प्रतिष्ठान नभएका व्यक्तिले आफ्नो सतनियतमाथि प्रहार गरी नाजायज फाइदा लिन अनेक प्रपञ्च गरेकोलगायतको जानकारी दिँदै पाण्डे भन्छन्,‘मेरो अगाडिको यात्रा पार्टीलाई पनि भन्छु, सरकारलाई पनि भन्छु, मैले मेरो आफ्नो नैतिक बलका आधारमा म कानूनी लडाईं पनि लड्छु। नैतिक लडाइँ पनि लड्छु। इमान्दार मान्छेहरुले नैतिकताको बाटोबाटै संघर्ष गर्न सक्छन्, लड्न सक्छन्, प्रतिवाद गर्न सक्छन्।’
आफूमाथि बजगाँईले लगाएको आरोपको खण्डन गर्दै त्यसको पुष्ट्याँई भएको खण्डमा सरकार र पार्टीबाट पनि अलग रहन सक्ने बताउँदै पाण्डेले जोडेका छन्,‘अन्तिम जित सत्यको हुन्छ। इमान र निष्ठाको जित हुन्छ भन्नेकुरा स्थापित गर्न चाहन्छु। सरकार र पार्टीलाई मैले केही गरेँ की भन्ने लाग्छ भने सरकार र पार्टीले ममाथि गहिरो गरी छानबिन गरोस्।’
यसअघि बजगाँईले भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको अनुमति दिनेलगायतका विषयमा पनि मन्त्री पाण्डेलाई दोषेका थिए।
बजगाँई नेपाली कांग्रेस गोरखा–१ का सांसद हुन्। उनी बेलामौका विविध विषयको विवादमा समेत आउने गरेका छन्। यसअघि उनले गगन थापाकाविरुद्ध अन्तरवार्ता दिएका थिए।