नेभिगेशन
विश्व

ट्रम्प सरकारको रक्षामन्त्री बन्ने भए फक्स न्यूजका पत्रकार, चीनका कटु आलोचक राष्ट्रिय सुरक्षा सल्लाहकार

काठमाडौं– अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले फक्स न्यूजका प्रस्तोता पिट हेग्सेथलाई आफ्नो प्रशासनको रक्षामन्त्री नियुक्त गरेका छन्।

यसैगरी प्रविधि अर्बपति इलोन मस्क र रिपब्लिकन पार्टी नेता विवेक रामास्वामीलाई सरकारको बजेट कटौती गर्ने र प्रभावकारिता हेर्ने नयाँ निकायको जिम्मा दिएका छन्।

ट्रम्पले राष्ट्रपतिको उम्मेदवार हुने कानुनी झमेला सहनु परेको भए रामास्वामी रिपब्लिकन पार्टीबाट उम्मेदवारीको तयारी गरिरहेका थिए।

बीबीसीका अनुसार उनीहरूलाई संयुक्त राज्य अमेरिकाको स्थापनाको २५०औँ वार्षिक समारोहअघि नियमहरू कटौती गर्ने र सरकारी खर्च घटाउने जिम्मेवारी दिइएको छ। जुलाई २०२६ सम्मको समयसीमा पाएका उनीहरूको कार्यकाल त्यसपछि के हुन्छ प्रष्ट छैन।

ट्रम्पले अमेरिकी गुप्तचर निकाय सीआईएको प्रमुखमा जन ¥याट्क्लिफ र चीनका कटु आलोचक रहेका फ्लोरिडाका सांसद माइक वाल्सलाई राष्ट्रिय सुरक्षा सल्लाहकार मनोनयन गरेका छन्।

उनले क्रिस्टी नोमलाई आन्तरिक सुरक्षा हेर्ने डिपार्टमन्ट अफ होमल्यान्ड सेक्युरिटी प्रमुख नियुक्त गर्ने निर्णय पनि गरेका छन्।

ट्रम्पले आर्कान्सा राज्यका पूर्वगभर्नर माइक हकबीलाई इजरेलका लागि अमेरिकी राजदूत र व्यापारी स्टीभन विट्कोफलाई मध्यपूर्वका लागि विशेष दूत बनाउने निर्णय गरेका छन्। यसअघि उनले न्यूयोर्कबाट सांसद निर्वाचित एलिज स्टिफ्यानिकलाई संयुक्त राष्ट्रसङ्घमा अमेरिकी दूत छानेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व