Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वमन्त्री बिना मगरको पूर्वड्राइभरले ऋषि धमलालाई सीआईबीको चक्कर काट्ने बनाए

बुधबार, कात्तिक २८, २०८१

काठमाडौं– यसै पनि हाँसोका पात्र बनाइने गरेका पत्रकार ऋषि धमला अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को चक्कर काटिरहेका छन्। 

एउटा अन्तरवार्ता लिएर प्रशारण गर्दा धमलाका लागि बुधबारको दैनिकी सीआईबीमा बिताउनु परेको हो। आफूलाई निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्दै अन्तर्वार्ता दिएका नवराज अर्यालको कार्यक्रम प्रशारण गरेर भ्रम फैलाएको आरोप छ। 

अर्याल पूर्वमन्त्री बिना मगरका ड्राइभर थिए। तर उनको नक्कली लाइसेन्स भएका कारण जागिरबाट निकालिएको अर्यालकी पत्नीले सीआईबीमा बयान दिएकी छन्। 

अर्यालले बताएका विषयहरु घटनास्थलका विषयसँग मेल खाने प्रकारको नरहेको सीआईबीले जनाएको छ। अर्यालले पत्रकार ऋषि धमलासँग टेलिभिजन अन्तर्वार्ता दिँदै मोटरसाइकलमा गएका बेला आफूले पन्तमाथि बलात्कार हुँदै गरेको देखेको दाबी गरेका थिए।

सीआईबीको प्रारम्भिक अनुसन्धानमा त्यो सम्भावना हुने चिज नै नरहेको पनि खुलेको छ।

उनी त्यसबेला कञ्चनपुरको पुनरवासमा गएको देखिए पनि त्यहाँबाट घटनास्थल आउन ४० किलोमिटर दूरी रहेको र उनले भनेको लोकेशन उल्टो परेको सीआईबीले जनाएको छ। 

गोरखाको मान्छे पहिलो चोटी कञ्चनपुर गएको स्थिति छ, उसले त्यहाँ कोही चिनेको छैन, ठाउँबारे पनि थाहा छैन। यस्तोमा एक झलकमा तीन जना उखुबारीमा देखेको र उनीहरुलाई स्पष्ट चिन्ने भन्ने बयान पनि अपत्यारिलो रहेको सीआईबी अधिकारीले बताएका छन्।

अर्यालले घटनास्थल बेलौरी जाने बाटोमा भनेका थिए तर त्यो ठिक उल्टो पर्छ। घटनास्थल राजमार्गबाट डेढ दुई किलोमिटर भित्रपर्छ, त्यो घटनास्थल अपोजिट साइडमा पर्छ।

घर नगएको नौ महिना भयो भनी अन्तरवार्ता दिए पनि अघिल्लो दिन मात्र पनि सँगै खाना खाएको अर्यालकी पत्नीको बयान छ। अन्य कारणबारे सीआईबीले सोधीखोजी गरिरहेको छ। 

यहि शिलशिलामा पत्रकार धमलासँग पनि सीआईबीले सोधपुछ गर्दैछ। अहिले धमला सीआईबीको चक्कर काटिरहेका छन्।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्