उखुको उत्पादन यस वर्षपनि घट्ने, क्रसिङ सुरु हुन लाग्दा सरकारले अझै तोकेन मूल्य
काठमाडौँ - यो वर्ष पनि उखुको उत्पादन घट्ने भएको छ। गत वर्षको तुलनामा यसपालि उखु उत्पादन ३० प्रतिशतभन्दा धेरै घट्ने अनुमान गरिएको उखु उत्पादक संघले जनाएको छ।
गत वर्ष २ करोड ४२ लाख क्विन्टल उखु उत्पादन भएकामा यो वर्ष १ करोड ६५ लाख क्विन्टल उत्पादन हुने संघको अनुमान छ। ४ वर्षयता उखुको उत्पादन घटिरहेको छ।
संघका अध्यक्ष कपिलमुणि मैनालीले लागत अनुसार मूल्य नपाउने अवस्थाले किसानहरुले उखु उत्पादन घटाउँदै गएको बताए। उनका अनुसार लागत अनुसारको मूल्य नतोकिनु र किसानले समयमै भुक्तानी नपाउनु पनि उत्पादन घटाउनुको कारण हो।
क्रसिङको समय सुरु हुन लाग्दा सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छैन। गत वर्ष पनि उखु मिलले क्रसिङ सुरु गरेपछि मात्र सरकारले प्रति क्विन्टल ६३५ रुपैयाँ मूल्य तोकेको थियो। किसानले प्रति क्विन्टल उद्योगबाट ५६० र सरकारबाट अनुदानपात ७० रुपैयाँ पाएका थिए।