Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्व क्रिकेटकै चर्चित खेलाडी भारतका शिखर धवन कर्णाली याक्सबाट एनपीएल खेल्ने

बिहीबार, कात्तिक २९, २०८१

काठमाडौं - कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टोलीमा अनुबन्ध गरेको छ ।

कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गरायो ।

कर्णाली याक्सको टिम भारतमै पुगेर धवनसँग एनपीएलका लागि सम्झौता गरेको हो । सम्झौतामा टिम मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने गोप्य राखिएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र धवनसँगै भारतका लागि कार्यवहाक राजदूत डाक्टर सुरेन्द्र थापासहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेको उपस्थिति थियो ।

३८ वर्षीय बायाँ हाते ओपनर धवनले भारतका लागि च्याम्पियन ट्रफी देखि एसिया कप जितेका छन् । यस्तै धवनले सनराइजर्स हैदरवादबाट इन्डियन प्रिमियर लिग (आईपीएल) समेत जितेका छन् ।

उनले आईपिएलमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् । उनले सन् २०१६ मा हैदरावादलाई आईपिएल जिताएका थिए । त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन् ।

धवनले  भारतका लागि ३४ टेष्ट, १६७ ओडिआई र ६८ टी२० आई म्याच खेलेका छन् । टेष्टमा ७ शतक मद्तमा २ हजार ३१५ रन बनाएका धवनले ओडिआईमा ६ हजार ७९३ रन बनाएका छन् जसमा १७ शतक समावेश छ । यस्तै टी२०आईमा उनले ११ अर्धशतक मद्तमा १ हजार ७५९ रन बनाएका छन् ।

धवनले भारतका लागि पछिल्लो पटक सन् २०२१ मा श्रीलंका विरुद्ध टी२०आई म्याच खेलेका खेलेका थिए । यस्तै उनले भारतको राष्ट्रिय टिमका लागि पछिल्लो पटक सन् २०२२ डिसेम्बरमा बंगलादेशविरुद्ध ओडिआई म्याच खेलेका थिए । धवनले पछिल्लो सिजन पञ्जाव किंग्सबाट आईपीएल खेलेका थिए ।

धवनले आईपीएलमा पाँच फरक टिमबाट गरी कूल २२२ म्याच खेलेका छन् । जसमा उनले २ शतक सहित ६ हजार ७६९ रन बनाएका छन् । उनी आईपीएलमा सर्वाधिक रन बनाउनेमा विराट कोहली भन्दा मात्र पछि छन् । धनव आईपीएलमा लगातार दुई शतक हान्ने पहिलो खेलाडी समेत हुन् ।

उनले सबैखाले टी२० गरी ३३४ खेल खेलेका छन्  र त्यसमा ९ हजार ७९७ रन बनाएका छन् । जसमा उनले २ शतक समेत प्रहार गरेका छन् । शिखर धवनको अनुबन्धपछि कर्णाली याक्सको टिम अझ बलियो बनेको छ । कर्णालीले यसअघि नै पाकिस्तानका हुसेन तलात, वेष्ट इन्डिजका चाडविक वाल्टन र हङकङका बाबर हायतलाई अनुबन्ध गरिसकेको छ ।

नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामी मार्की प्लेअर रहेको कर्णालीको मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका पर्व कप्तान ज्ञानेन्द्र मल्ल छन् । कर्णाली याक्सको अन्य खेलाडीमा गुल्शन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे छन् । यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ०७:१९
प्रतिक्रिया दिनुहोस्