गणेश हिमालको आधार शिविरमा १६ जना फसे
धादिङ- चिसो र अधिक उचाइका कारण दुई बिरामीसहित १६ जना मंगलबारदेखि गणेश हिमालको आधार शिविरमा फसेका छन् । उद्धारका लागि बुधबार गएको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण फर्किएको छ ।
डिभिजन वन कार्यालय धादिङका रेन्जर अनुसुया ढुंगानाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उद्धारका लागि सेनाको हेलिकोप्टर बुधबार दिउँसो आधार शिविर पुगेको थियो । तर, खराब मौसमका कारण अवतरण हुन नसकेपछि उद्धार हुन नसकेको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए । मंगलबार साँझदेखि अनुसुयाको स्वास्थ्य अवस्थामा समस्या आएको थियो । नेटवर्कको पहुँच नभएका कारण बुधबार ६ घण्टा हिँडेर नेटवर्क आउने ठाउँ पुगी सँगै टे«क गएकाले उद्धारका लागि सहयोग मागेका थिए । बुधबार दिनभर प्रयास गर्दा पनि उद्धार गर्न नसकिएको ट्रेकिङ टोलीमा रहेका रुबीभ्याली गाउँपालिकाका विपिन तामाङले बताए ।
अनुसुयासँगै डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यको पनि स्वास्थ्य अवस्थामा समस्या देखिन थालेको छ । टोलीमा रहेका २७ मध्ये दुईजना बिरामीसहित १६ जना आधार शिविरनजिकै फसिरहेका हुन् । ११ जना १४ घण्टा हिँडेर तिप्लिङको हिन्दुङ आइपुगेका छन् ।
पर्यापर्यटन प्रवद्र्धनको उद्देश्यले धादिङको रुबीभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको २७ जनाको टोली एक सातादेखि यात्रामा छ । त्यस स्थाननजिक मानव बस्ती नभएको र सञ्चारको पहुँच नभएकाले बुधबार बिहानदेखि ६ घण्टा हिँडेर सञ्चार सम्पर्कमा आएको ट्रेकिङमा रहेका पत्रकार मिलन तिमिल्सिनाले बताए । गणेश हिमालले नुवाकोट, धादिङ र रसुवा जिल्ला छोएको छ ।