गृहमन्त्री बनेका रवि मात्र होइनन् छानबिनमा परेका, यसकारण हिरासतमै राख्नु परेको
काठमाडौं– छोटो अवधिका लागि भए पनि दुई पटक सत्तामा पुगेका रास्वपा सभापति रवि लामिछानेले देशको प्रशासनिक संयन्त्रमा शक्ति जमाउन पुगे। उपप्रधान तथा गृहमन्त्री बनेका उनी अहिले सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगमा हिरासतमा छन्।
कास्की प्रहरी हिरासतमा रहेका उनी मंगलबार रुपन्देही पुराइए र विहीबार फेरि कास्की फर्काईदैछ। उसो त गृह मन्त्रालय सम्हालेका रवि मात्र पहिलो नेता होइनन् यस्ता अभियोगमा हिरासत बसेका। उनीअघि गृह प्रशासन चलाएका नेपाली कांग्रेसका गोविन्दराज जोशी, खुमबहादुर खड्कादेखि बालकृष्ण खाँणसम्म हिरासत यात्रामा पुगेका हुन्।
जोशी र खड्कालाई राजनीतिमा नफर्किनेगरी भ्रष्टाचार अभियोग प्रमाणित भएको थियो। रोशनी शाही प्रकरणमा गृहमन्त्री समेत सम्हालिसकेका तत्कालिन सभामुख माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पनि पूर्पक्षका लागि थुनामा बसीसकेका व्यक्ति हुन्।
प्रतिपक्षमा रहेको रास्वपाका नेता रविमाति अब निरन्तर अनुसन्धान हुने प्रहरी अधिकारी बताउँछन्।
‘उहाँमाथि तीन वटा मुद्दामा निरन्तर अनुसन्धान जारी छ। सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरण, त्यसको अनुसन्धानका लागि समय लाग्ने नै भयो। बाहिर के हो त्यो हाम्रो सरोकारको विषय भएन। तर अनुसन्धान पूरा नगरी नै अभियोजन लगाउने कुरा हुँदैन’, उच्च प्रहरी अधिकारी भन्छन्।
रास्वपाका नेताहरूले रविलाई हिरासतमा नै राख्नुपर्ने कारण नरहेको बताइरहेका छन्। हिरासत बाहिर राखेर पनि अनुसन्धान हुन सक्ने रास्वपाको दाबी छ।
तर उच्च तहका प्रहरी अधिकारी भन्छन्,‘एउटा मुद्दा भए बाहिर राख्न सकिन्छ। तर, उहाँमाथि तीन वटा मुद्दा रहेको र यत्तिको नेताले ति मध्यका मुद्दामा प्रभावित बनाउन सक्ने सम्भावना प्रचुर रहेकाले हिरासतमा राख्नु परेको हो।’
तीन मध्य संगठीत अपराध र सम्पत्ति शुद्धिकरण अझ महत्वका मुद्दा हुन्। गृहमन्त्री भएका बेला नै आफ्ना साझेदार जीबी राईको लोकेशन मलेसिया रहेको भनी पदको चरम दुरुपयोग गरेका रविका मुद्दामा सरकारी वकिलको कार्यालयले नै अभियोजन लाउनेछ। प्रहरी अधिकारी भन्छन्,‘हामी सकभर चाँडो प्रतिवेदन बुझाउने तयारीमा छौं, मुद्दा लगाउने काम हाम्रो होइन सरकारी वकिलको कार्यालयको तजबिजीमा हुन्छ। तर, प्रतिवेदनका निम्ति खाँटी अनुसन्धान त हुनुपर्छ।’