सफल भएको ‘क्रान्ति’ देख्न नपाएको पूर्णे अर्थात् ‘पूर्णबहादुरको सारङ्गी’
काठमाडौं– समाज, इतिहास र समयकाल खण्ड मात्र होइन एउटा फिल्मले मानिसको जीवनलाई पनि राम्रोसँग बुझाउन सक्छ भन्ने उक्तिको पयार्य हो, ‘पूर्णबहादुरको सारङ्गी’।
तेस्रो हप्ताको पनि अग्रिम बुकिङ आक्रामक हुनु, दक्षिण भारतीय फिल्म ‘कगुवा’ यसैका त्रासका कारण नेपालमा रिलिज नहुनुले यो फिल्म कति शक्तिशाली छ भन्ने पुष्टि भइसकेको छ।
नेपाली फिल्म जगतमा नै सबैभन्दा धेरै व्यापार गर्नु अनि दैनिक ग्रस कलेक्शनमा सबैको रेकर्ड तोड्नुले पनि पूर्णबहादुरको सारङ्गी राम्रोसँग घन्किएको छ भन्ने स्पष्ट प्रमाणहरू हुन्।
बिजय बराल (पूर्णे), प्रकाश सपूत, स्वयम् केसी (कमले) अञ्जना बराइली (बाटुली), मुकुन भुसाल (वीरे), माओत्से गुरुङ (साहुजी), देशभक्त खनाल (पूर्णेको बाउ), भोलाराज सापकोटा (शिक्षक) र बुद्धि तामाङ (भरिया)लगायतले फिल्मको अभिनयमा जीवन दिएका छन्।
प्रायःले यो फिल्म हेरिसकेका छन् र भावुकताका भिडिओहरू छ्याप्छ्याप्ती पनि छन्। तर, यो फिल्मको विशेषता एक लाइनमा भन्दा ‘पूर्णेले सफल भएको क्रान्ति हेर्न नपाउँदै स्वास विशाउँछ अर्थात् कमलेलाई डाक्टर बनेको उसले देख्न पाउँदैन’।
गन्धर्वको सारङ्गी रेटी मागी खाने परम्परालाई पूर्णबहादुरले निरन्तरता दिए पनि देशमा चलिरहेको माओवादी युद्ध एकातिर हुन्छ र अर्कातिर पूर्णेले छोरालाई डाक्टर बनाउने सामाजिक क्रान्तिको संघर्ष गरिरहको हुन्छ।
फिल्ममा पञ्चायतदेखि गणतन्त्रसम्मको कालखण्डलाई छोटो अवधिमा सृजनात्मक हिसाबमा पेस गरिएको छ। विद्यालयमा गाइने ‘श्रीमान् गम्भिर नेपाली प्रचण्ड प्रतापी भूपती’ जस्तो पूर्व राष्ट्र गानदेखि महेन्द्र मालासम्मको किताबलाई देखाएर समयको धुकधुकी जीवन्त राखिएको छ।
गाइनेको पुस्ता गाइने नै हुनुपर्छ भन्ने मान्यताको विद्रोही बाटुली घर न घाटको हुन्छे, छोराकै भविष्य सोच्दा। बाटुलीको फिल्मबाटको बहिर्गमन आश्चर्यजनक छैन। बाटुलीको स्मृति लिखा झार्ने काइँयोमा अड्किएको कपालले गरिरहन्छ।
चट्याङ पर्दा बाबुसँग आश्रय लिने कमललेलाई त्यहि चट्याङले बाटुलीसँगको सदरमुकामको यात्राबाट फिरौतीमा पूर्णेसँग पुराएपछि कथाको गति अगाडि बढ्छ। र, यसको अन्त्य पूर्णेले डाक्टर कमलेको चिठि पढ्ने धोको पूरा नहुँदै हुन्छ।
शिक्षकको राजनीतिक क्रान्ति एकातिर चले पनि पूर्णे र गन्धर्वमाथिको हेर्ने दृष्टिकोण पञ्चायती शासनकालको समाजको परिदृश्य हो। अनि, कतै–कतै कुनै कुनामा वीरेको इष्र्या अनि उसैको साथले पनि समाजलाई केलाएको छ।
कथा राम्रोसँग उनिएको छ। पटकथा उत्कृष्ट छ। गीतले कथालाई उचालेको छ। सारङ्गीको जीवन बुढो नभए पनि कलाकारमा समयको अन्तरालको फरकपना दिन निर्देशक सरोज पौडेल चुकेका छैनन्।
यसर्थ पनि यो फिल्म कसैले हेरेको छैन भने हेर्नु उपयुक्त हुनेछ। एउटा छोराको सफलताका निम्ति बाबुको संघर्षको कथा मात्र भन्दा न्याय नहुन सक्छ। यो कथा हो– एउटा गरिबले सहनुपर्ने हेपाइको, रहरलाई बन्धकी राखेर परम्परालाई धान्नुपर्ने बाध्यताको अनि ठूलो मान्छे र परसम्म देख्न सक्ने बनाउनका लागि खाएको हन्डरको। पूर्णबहादुरको सारङ्गी यस अर्थमा एउटा बलियो फिल्म हो।
प्राविधिक पक्षमा कहीँ–कहीँ जर्क भए पनि त्यो दर्शकले महशुस गर्दैनन्। दर्शक उनिने नै संघर्षको कथामा छ। केबल पूर्णेको संघर्षले नै दर्शकका आँखालाई एक टक बनाउँछ।