Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनपिएल बन्दैछ झन् महँगो खेलः कर्णालीले भारतीय स्टार क्रिकेटर शिखर धवन किन्यो, कसरी भयो सम्भव?

बिहीबार, कात्तिक २९, २०८१

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले अब १७ दिनपछि उद्घाटन गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) विश्वमा चर्चा कमाएका स्टार खेलाडीको प्रवेशसँगै झन् महँगो खेल बनेको छ।

कर्णाली याक्सले भारतीय स्टार खेलाडी शिखर धवनलाई टिममा अनुबन्धन गरेपछि यसको उचाई थप बढेको छ। नेपालसँगै भारतका मिडियामा पनि धवनको चर्चा बढेको छ भने एनपीएलको पनि।

लिजेन्ड लिगसमेत खेलेको धवनले यसै बर्षको अगस्टमा अन्तर्राष्ट्रिय क्रिकेटबाट रिटायर्डमेन्ट लिएका थिए। उनले बिग क्रिकेट लिगमा पनि भाग लिएका छन्। 

धवनको एनपीएल खेल्ने निर्णयका विषयमा आउटलुक इन्डियाले पनि समाचार प्रकाशित गरेको छ।

३८ वर्षिय धवनले ३४ टेस्ट, १६७ एक दिवसीय र ६८ टी–२० मा भारतको प्रतिनिधित्व गरेका छन्। उनले सबै ढाँचाहरूमा १० हजारभन्दा बढी रन बनाएका छन् र क्रिकेटमा उत्कृष्ट ओपनिङ ब्याट्सम्यानमध्ये एक मानिन्छन्।

एनपीएलमा यसअघि नै यसअघि नै पाकिस्तानका मोहम्मद हुसेन तलत, हङकङका बाबर हयात र वेस्ट इन्डिजका चाडविक वाल्टनले खेल्ने सम्झौता भइसकेको छ।

केही समयअघि एनपीएलकै लागि पोखरा एभेन्जर्सले दक्षिण अफ्रिकी प्रशिक्षक जोन्टी रोड्सलाई अनुबन्ध गर्दा पनि भारतीय मिडियाहरुमा चर्चा भएको थियो। 

एनपीएलका लगि भारतका धवनसहित सुरेश रैना, दिनेश कात्तिक, केदार जाधव, रोविन उथप्पाजस्ता स्टार खेलाडीले इच्छा देखाएका थिए। 

कर्णाली याक्सका मालिक झनकदत्त खनाल र धवनबीच भारतका लागि कार्यवहाक राजदूत डाक्टर सुरेन्द्र थापा, अर्का मालिक गृहेन्द्र घिमिरेको उपस्थितिमा सम्झौता भएको थियो। यसअघि धवनले तीन देखि चार करोड पारिश्रमिक डिमान्ड गरेको विषय सतहमा आएको थियो। तर, कर्णालीले कतिमा सम्झौता गरेको हो भन्नेचाहिँ खुलेको छैन।

विराटनगर किंग्सले न्युजिल्याण्डका खेलाडी मार्टिन गप्टिललाई अनुबन्ध गरेको थियो। गप्टिल पनि विश्व क्रिकेटमा ठूलो नाम हो। तर, धेरै पटक विश्व बिजेता बनेको र धवन आफैं पनि विस्फोटक ओपनर भएका कारण उनलाई कर्णालीले भित्राउनुलाई ठूलो खबर मानिएको छ।

भारतको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय खेल खलिसकेका धवन एनपिएलमा भित्रिने पहिलो खेलाडी हुन्। उनको कौशलताको कर्णालीले भरपूर फाइदा उठाउनेछ, जसका प्रशिक्षक ज्ञानेन्द्र मल्ल हुन्। 

भारतका लागि आईसीसी च्याम्पियन्स ट्रफी र एसिया कप जितिसकेका धवन सनराइजर्स हैदरबादबाट आईपीएल उपाधि समेत जितिसकेका छन्।


 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्