प्रचण्ड किन यस्तो बोल्दैछन्, चीनबिरोधी भारतको ‘दी हिन्दू’को अन्तरवार्तामा के यस्तो भनेछन्?
काठमाडौं– १८ महिनासम्म गठबन्धन फेरेर सरकारको नेतृत्व गरिरहेका पूर्वप्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि पनि सत्तामा उक्लिने विभिन्न दाउको खोजीनीतिमा छन्।
प्रधानमन्त्री बन्दिन भनेर सार्वजनिक भाषण गर्ने प्रचण्ड कुनै मेसो मिलाएर अन्तर्राष्ट्रिय र खासगरी छिमेकी मुलुक भारतको समर्थन खोजिरहेका छन्।
यसै मेसोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन परस्त भनी भारतीय संस्थापनलाई उनले बुझाउने प्रयास गरिरहेका छन्।
‘दी हिन्दू’ पत्रिकामा अन्तरवार्ता दिएर प्रचण्डले यसो भनेका छन्। यति मात्र होइन ओलीले चीन कार्ड खेलिरहेको भन्ने पनि आरोप लगाएका छन्।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी हुँदै गर्दा अर्को छिमेकी मुलुकमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले किन यसो भनेका हुन् भन्ने विषय नै सिधा सत्ताबाट ओरालिएको आवेशका रुपमा धेरैको टिप्पणी छ।
उनले भ्रमणका नाममा चिनियाँ कार्ड खेल्न खोजेको आरोप लगाएका छन्। अन्तर्वार्तामा प्रचण्डले ओली सरकारको नीतिले गर्दा नेपाल–भारत सम्बन्ध तनावग्रस्त बनेको जिकिर गरेका छन्।
‘वर्तमान सरकारको अपरिपक्वता हो। सरकारले दुवै छिमेकीसँगको सम्बन्धमा परिपक्वता देखाउनुपर्ने थियो। केपीजी चीन भ्रमणमा जाँदै हुनुहुन्छ, तर यो भ्रमणभन्दा बढी चीन कार्ड देखिन्छ। यो गलत हो’ प्रचण्ड अन्तरवार्तामा भन्छन्,‘हाम्रो इतिहास, संस्कृति र भौगोलिक अवस्था सम्बन्ध सन्तुलित राख्नुपर्ने हो। र, उहाँले चिन भ्रमणमा जानु अगाडि भारतसँगको विशिष्ट सम्बन्धलाई पनि स्वीकार्नुपर्थ्यो।’
उनले आफू थप ६ महिना सरकारमा रहेको भए भारतसँग पञ्चेश्वर बाँध परियोजनाको टुंगो लाग्ने दाबी पनि गरेका छन्। प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नरहे पनि आफू नै प्रधानमन्त्री बन्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।
अहिले आफू प्रधानमन्त्रीको रेसमा हुन नचाहेको बताएका प्रचण्ड भन्छन्,‘म जनतासँग राम्रो सम्बन्ध बनाउनमा केन्द्रित छु, पदका पछाडि होइन। तर, मेरो चिन्ता के हो भने यदि पद नै मेरो पछाडि आयो भने, हाम्रो पार्टीले यस्तो अवसर आयो भने के गर्ने भनेर निर्णय गर्छ।’
प्रचण्डमा अलग किसिमको छटपटि अहिले हावी भएको विश्लेषकहरू बताउँछन्। यो अन्तरवार्ताको अर्थचाहिँ मुलुकका हितमा नरहेको पनि कतिपयको बुझाई छ।