Nic Ad Nic Ad
Nic Ad Nic Ad

भैरहवामा रवि लामिछानेको बयान सकियो, सम्पत्ति शुद्धिकरणको कास्कीमा जारी

बिहीबार, कात्तिक २९, २०८१

भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान रुपन्देहीमा सकिएको छ। जिल्ला सरकारी वकिल कार्यालय भैरहवामा मंगलबारदेखि जारी बयान बिहीबार अपरान्ह सकिएको हो।

प्रहरी स्रोतका अनुसार लामिछानेलाई मंगलबार मौखिक प्रश्न सोधिएको थियो । बुधबार र बिहाबार करिब ७० वटा लिखित प्रश्न सोधिएको छ ।
जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरूको टोलीले रविको बयान लिएका हुन् । बयानका क्रममा लामिछानेले आफू सहकारी ठगी प्रकरणमा संलग्न नभएको भन्दै आफ्नो बचाउ गरेका छन् । उनले गोर्खा मिडिया नेट्वर्कमा सहकारीको रकम आएकोबारे अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) लाई नै थाहा भएको बयान दिएका छन् ।

सुप्रिम सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेट्वर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरिएको आरोप रविमाथि छ।

बयानका क्रममा रविले सुप्रिम सहकारी संस्थाबाट गोर्खा मिडियाका नामा आफ्नो निजी खातामा आएको भनिएको एक करोड ९६ लाख रुपैयाँ कसले हालिदियो भन्ने थाहा नभएको बताएका छन् ।

उनले यो कुरा बुधबार पनि बताएका हुन् । बिहीबार पनि उनले अधिकांश आरोप अस्वीकार गर्दा खातामा रकम आएको कुरा भने सकारेका स्रोतले उल्लेख गरेको छ ।

उनले खातामा आएको पूरै १ करोड ९६ लाख रुपैयाँ आफूले चेक काटेर चलाएको पनि बताएका छन् । तर उनले आफू सुप्रिम सहकारी संस्थाको सदस्य नभएकाले बचत ठगी प्रकरणमा संलग्न भएको कुरालाई भने इन्कार गर्दै बयान दिएका छन् ।

रविले दुई दिन सोधिएका अधिकांश प्रश्नमा इन्कारी बयान दिएका छन्। तर सुप्रिम सहकारीबाट आफ्नो नाममा जम्मा भएको १ करोड ९६ लाख रुपैयाँ चलाएको कुरा उनले सकारेका छन् । उक्त रकम जम्मा रविको नाममा जम्मा गर्ने काम सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले गरेकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्