Nic Ad Nic Ad
Nic Ad Nic Ad

हनिट्र्याप प्रकरणमा एसपी थापा रेड जोनमा, सीआईबीले लियो बयान

बिहीबार, कात्तिक २९, २०८१

काठमाडौं - व्यापारीलाई हनि ट्रयापिङमा फसाएर प्रहरीकै मिलेमतोमा ३० लाख असुलिएको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आगामी साता सरकारी वकिलमार्फत मुद्दा दायरको तयारी गरेको छ । यसमा मुछिएका एसपी कमल थापासँग सिआइबीले बयान कागज गरेको छ ।

थापा योजनाकार समूहमै देखिएपनि उनलाई जोगाउने प्रयास भइरहेको छ । सरकारी वकिल कार्यालयको निर्देशनमा प्रहरीले उनको बयान कागज गरेको हो ।

गत ७ असोजमा ललितपुरको भैंसेपाटी प्रभागमा मोरङका एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख असुलिएको थियो । जसमा प्रभागकी तत्कालिन प्रमुख इन्सपेक्टर बिनुकुमारी शाहीको समेत मिलेमतो थियो ।

निलम्बनमा परेकी उनी डेढ महिनादेखि फरार रहेपनि प्रहरीले अनुसन्धानमा चासो दिएको छैन । उनका चालक रहेका सहायक हवल्दार महेन्द्र हमाल र गिरोहका ताज इस्लाम, सुष्मा विक र भिमादेवी थापालाई प्रहरीले पक्राउ गरी संगठित अपराध र आपराधिक लाभ मुद्दामा अनुसन्धान गरिरहेको छ ।

इन्सपेक्टर शाही र इटहरीका दर्शन पोखरेलविरुद्ध समेत पक्राउ पूर्जी जारी भएपनि फरार नै छन् । एसपी थापाले नै ताज इस्लामको समुहलाई इन्सपेक्टर शाहीलाई भेटाएका थिए ।

पैसा लेनदेनपछि पनि इस्लाम र एसपी थापाबीच डेढ घन्टा कुराकानी भएको थियो । जसकारण उनको समेत यसमा योजना देखिएको छ । साथै गत जेठमा ठेकदार विदुर शर्मालाई दरबारमार्ग वृत्तमा त्यसैगरी फसाइएको घटनामा समेत उनको मिलेमतो देखिएको प्रहरी स्रोत बताउँछ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  २१:२९
प्रतिक्रिया दिनुहोस्