सशस्त्र आईजी अर्याल र भारतीय एसएसबी प्रमुख मोहन प्रसादको वार्तामा 'नयाँ विषय'
काठमाडौं– सशस्त्र प्रहरी बलका महानिरिक्षक (आईजी) राजु अर्याल र नेपाल र भुटानसँगको सीमा सुरक्षाको जिम्मेवारीमा रहेको भारतको सशस्त्र सीमा बल (एसएसबी) प्रमुख अमृत मोहन प्रसादबीच वार्ताको तय भएको छ।
मोहन प्रसाद तीन दिनका लागि शुक्रवार काठमाडौं आएर आइतवारसम्म विशेष त आईजी अर्यालसँग वार्ता गर्दैछन् भने केही भेटघाट पनि हुने बताइएको छ।
यो नियमित भेटघाट भए पनि सीमाका सन्दर्भमा विकसित भएका नयाँ घटनाक्रमका सन्दर्भमा वार्तामा कुराकानी हुनेछ। नेपालको सीमा सुरक्षालगायतको जिम्मेवारी सशस्त्र प्रहरी बलले गर्दै आएको छ।
शनिवार र आइतवार दुई सुरक्षा सङ्गठनबीच हुने द्विपक्षीय बैठकमा सीमा सुरक्षाका धेरैजसो पुरानै र केही नयाँ परिवेशका विकसित घटनाक्रमले प्राथमिकता पाउने सह–प्रवक्ता शैलेन्द्र थापालाई उदृत गरी बीबीसी नेपाली न्यूजले लेखेको छ।
सीमा सुरक्षाका अतिरिक्त नेपाल–भारत सीमामा लागुऔषध औसारपसार, साना हतियार तस्करी, मानव बेचबिखन, अनौपचारिक व्यापारलगायतका विषयमा दुई सङ्गठनहरूले सहकार्य गर्दै आएका छन्।
झन्डै ३७ हजारको सङ्ख्यामा फौज रहेको सशस्त्र प्रहरीको करिब १५ हजार जनशक्ति सीमामै खटिएका छन्। भारतसँग सीमा जोडिएका कतिपय तराईका जिल्लामा एक दर्जनसम्म पोस्टहरू रहेका छन्।
केही महिनाअघि बाङ्ग्लादेशमा विद्यार्थी नेतृत्वको आन्दोलन चर्किरहेको बेला नेपाली सीमामा अतिरिक्त सशस्त्र प्रहरीहरू परिचालन गरेको स्मरण गर्दै सहप्रवक्ता थापा यसपटकको वार्तामा शरणार्थीको विषय समेत समेटिने बताउँछन्। यस्तै भारतीय बाटो हुँदै म्यान्मारका शरणार्थी पनि नेपालमा छिरेका थिए। यस्ता नयाँ घटनाक्रमका विषयमा कुराकानी हुने बताइएको छ।
नेपालमा म्यान्मारका रोहिन्ज्या, पाकिस्तानी अहमदिया, बाङ्ग्लादेश, श्रीलङ्कासहित विभिन्न अफ्रिकी देशका शरणार्थीहरू रहेका अधिकारीहरू बताउँछन्।
नेपाल सरकारले भुटानी र तिब्बतीलाई शरणार्थीको दर्जा दिए तापनि अन्यलाई गैरकानुनी आप्रवासी बताउने गर्छ। तीमध्ये केही भारतीय बाटो हुँदै नेपाल आएका बताइन्छ। उनीहरू नेपालबाट भारत जान सक्ने कुरालाई समेत चिन्ताका रूपमा हेर्ने गरिन्छ।