Nic Ad Nic Ad
Nic Ad Nic Ad

इंग्ल्यान्डका बोपाराले चितवन राइनोजबाट एनपीएल खेल्ने

शुक्रबार, कात्तिक ३०, २०८१

काठमाडौँ- चितवन राइनोजले इंग्ल्याण्डका अनुभवी खेलाडी रवि बोपारालाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अनुबन्ध गरेको छ ।

बोपाराले अब मंसिर १५ देखि सुरु हुने एनपीएल चितवन राइनोजबाट खेल्नेछन् । राइनोजले शुक्रबार विज्ञप्तिमार्फत बोपारालाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको जनाएको हो ।चितवनले अनुबन्ध गरेको बोपारा पाँचौँ विदेशी खेलाडी हुन् । चितवनले यसअघि नै दक्षिण अफ्रिकाका मर्चेन्ट डे ल्याङ, इंग्ल्ल्याण्डका लुक बेन्केनस्टेइन, अफगानिस्तानका हसन एइसाखिल र नामिबियाका जान निकोल लोफ्टी-इटनलाई अनुबन्ध गरिसकेको छ ।

३९ वर्षीय भेट्रान ब्याटिङ अलराउण्डर बोपाराले इंग्ल्याण्डका लागि १३ टेष्ट, १२० ओडिआई र ३८ टी-२०आई खेल खेलेका छन् । उनी ओपनिङ र मिडल अर्डर दुवै पोजिसनमा ब्याटिङ गर्न सक्षम खेलाडी हुन् । दायाँहाते ब्याटिङ गर्ने उनले आफ्नो करियरमा ४७८ टी२० खेलमा ९ हजार ४८६ रन बनाएका छन् भने २९१ विकेट पनि लिएका छन् ।

उनले इंग्ल्याण्डको राष्ट्रिय टिमबाहेक आईपीएल, बीबीएल, पिएसएल, सीपीएल, एलपीएललगायत विश्वका धेरै फ्रेन्चाइज टी२० लिग खेलेका छन् । भाइटालिटी टी२० ब्लास्ट र दी हन्ड्रेडमा गरी ५ हजार भन्दा बढी रन बनाएका छन् ।

नेपालको क्रिकेट क्रेजबारे सबैलाई थाहा भएको र हरेक खेलाडी नेपालको समर्थकसामू आएर खेल्न चाहने बताउँदै बोपाराले आफू चितवन राइनोजको जर्सी लगाएर खेल्न उत्साहित रहेको बताएका छन् ।

यस्तै चितवन राइनोजका म्यानेजिङ डिरेक्टर आयुष न्यौपानेले बोपाराजस्तो अनुभवी खेलाडीको आगमनले टिमको सन्तुलन राम्रो हुने र उनको अनुभव र नेतृत्वदायी क्षमताले ड्रेसिङ रुमलाई फाइदा पुग्ने बताए ।

युवा अलराउण्ड कुशल मल्ल मार्की प्लेअर रहेको चितवनमा भेट्रान खेलाडी शरद भेषावकर पनि छन् । यस्तै प्रशिक्षकमा उमेश पटवाल छन् ।

एनपीएल यही मंसिर १५ गतेदेखि काठमाडौंमा सुरु हुँदै छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्