प्रचण्डलाई जिल्ल पार्दै चीनअघि भारत भ्रमणमा जाँदैछन् प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीनअघि भारतको औपचारिक भ्रमणमा निस्कने भएका छन्।
न्युयोर्कमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको ओलीको वार्ताअनुसार डिसेम्बरको पहिलो साता भ्रमणको तयारी भइरहेको छ। परराष्ट्र मन्त्रालयले ओलीको भ्रमणको मिति सार्वजनिक गर्नेछ।
ओलीसँग परराष्ट्रमन्त्री आरजु राणासहितको अफिसियल टिम रहने बताइएको छ। उच्च स्रोतका अनुसार १५ दिन तयारी समय राखेर ओलीको भ्रमण मिति सार्वजनिक गरिनेछ।
परराष्ट्र मन्त्रालयसँगै भारतीय विदेश मन्त्रालयले पनि औपचारिक रुपमा भ्रमणबारेको कार्यतालिका सार्वजनिक गर्नेछ।
प्रधानमन्त्रीको भारत भ्रमणका कारण चीनतर्फको भ्रमण केही पर धकेलिन पनि सक्नेछ।
चीनबाट प्रधानमन्त्री ओलीलाई भ्रमणको औपचारिक निम्तो प्राप्त भइसकेको छ। चिनियाँ पक्षले यसअघि नै भ्रमणका लागि १७–२१ मंसिर (२–६ डिसेम्बर) को मिति प्रस्ताव गरेको थियो।
भारत भ्रणको पूर्वतयारीअनुरुप परराष्ट्रमन्त्री राणाले गरेको नयाँ दिल्ली यात्रामा प्रधानमन्त्री ओलीको भ्रमणको पूर्वतयारी गरिएको थियो।
यता ओलीको भ्रमण चीनअघि भारत हुने भएपछि पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिल्लिएका छन्। उनले हालै मात्र भारतको ‘दी हिन्दू’ पत्रिकालाई अन्तरवार्ता दिँदै ओली चीन भ्रमणमा गएर ‘चीन कार्ड’ खेल्न लागेको बताएका थिए।
कुटनीतिक तहमा प्रचण्डको यो भनाई नोटिसमा राखिएको थियो।