Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं महानगरः वडा १० को स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट भिडिओ एक्स–रे प्रयोगशालासहितका सेवा

शुक्रबार, कात्तिक ३०, २०८१

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नंं १० ले मध्य बानेश्वरमा स्वास्थ्य प्रबद्र्धन केन्द्रबाट स्वास्थ्य सेवा सुरु गरेको छ।

विहीबारबाट सुरु भएको केन्द्रमा आधारभूत स्वास्थ्य सेवासँगै भिडियो एक्स रे, फिजियोथेरापी, प्रयोगशालासहितका सेवा निःशुल्क उपलब्ध छन्। 

10-1731658092.jpg
सेवा शुभारम्भ गर्दै वडा १० का अध्यक्ष रामकुमार के. सी. ले नागरिकका समस्यालाई घरमै पुगेर समाधान गर्ने प्रयासअन्तर्गत स्वास्थ्य प्रबद्र्धन केन्द्र सञ्चालनमा ल्याइएको बताए। 

‘आकस्मिक अवस्था आइ परेमा हामी नागरिकको घरमा पुगेर भिडियो एक्स–रे सम्मको सेवा दिन सक्छौँ। यसरी थालिएको सेवालाई विकास र विस्तार गर्दै लैजानेछौँ’, केसीले भने,‘सकेसम्म अस्पतालको सेवा लिन नपरे हुन्थ्यो। यसका लागि प्रबद्र्धनात्मक कार्यक्रम चलाएका छौँ। अस्पतालको सेवा लिनै परे सेवाचाहिँ गुणस्तरीय हुनुपर्छ । यसमा हामी सचेत छौँ।’ 

10.2-1731658091.jpg
त्यस क्रममा प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले, स्वास्थ्य सेवाको विस्तारका लागि अन्तर सरकार सम्बन्धलाई विकास गर्न बाँकी रहेको उल्लेख गरे। 

महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक केसीका अनुसार रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. १४ बल्खु, वडा नं. १९ कंकेश्वरी, वडा नंं २६ लैनचौर र वडा नं. ३० ज्ञानेश्वर स्वास्थ्य प्रबद्र्धन केन्द्रलाई स्वास्थ्य बिमाको पहिलो सम्पर्क विन्दुका रुपमा प्रयोगमा ल्याइसकिएको छ। 

अहिले तयार भएका ५ वटा मध्य वडा नं. १० को एउटा हो। यससँगै वडा नं. १६, २७, १२ र ७ का प्रबद्र्धन केन्द्र बिमा कार्यक्रम सञ्चालन गर्न योग्य भएका छन्। बिमा वोर्डबाट अनुमोदन भएपछि कार्यान्वयनमा ल्याइनेछ। 

वडा नं. १० ले प्रबद्र्धन केन्द्र सञ्चालनका लागि नयाँ भवन निर्माणको कार्य थालनी गरिसकेको छ। वडा सदस्य सतिश तण्डुकार भन्छन्,‘ अहिले हामी वहालको भवनमा छौँ। आउँदो फागुनदेखि आफ्नै भवनबाट सेवा दिने तयारीमा छौँ।’

10.2-1731658091.jpg
केन्द्रमा गर्भ र सुरक्षित मातृत्वसँग सम्बन्धित समस्या, कलेजो, मिर्गौलासम्बन्धी समस्यासहितका भिडियो एक्स–रे सुविधा उपलब्ध छ। केन्द्रका इञ्चार्ज छत्रबहादुर शाही भन्छन्,‘गुणस्तरीय उपचारात्मक सेवा र प्रबद्र्धनात्मक स्वास्थ्य सेवाका लागि केन्द्र प्रयत्नरत छ।’
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्