कर्नाटक यू-१९ माथि नेपाली युवा टोलीको सानदार जित
काठमाडौँ- एसिसी यू-१९ एसिया कपको तयारीमा रहेको नेपाली यू-१९ टोलीले भारतको कर्नाटक यू-१९ टोलीलाई दोस्रो खेलमा पराजित गरेको छ।
शुक्रबार मुलपानीमा भएको खेलमा नेपाली टोलीले ७ विकेटको जित निकालेको हो। जितसँगै पाँच खेलको सिरिजमा एक एकको बराबरी भएको छ।कर्नाटकले दिएको १२२ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा २४.५ ओभरमा पूरा गर्यो।
नेपालका लागि ओपनर आकाश त्रिपाठीले अर्धशतक प्रहार गरे। आकाशले नटआउट ५२ रन जोड्ने क्रममा ७६ बलमा ६ चौका प्रहार गरे।
अर्का ओपनर मयन यादव ३२ रनमा आउट भएका थिए। नरेन भट्ट १४ रन र सन्तोष यादव शून्यमा पेभिलियन फर्के। उत्तम मगरले नटआउट १२ रन जोडे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्नाटकलाई नेपालले ३८.१ ओभरमा १२१ रनमा अलआउट गर्यो।
कर्नाटकका लागि ओपनर प्रथिकले ३७ रन र रिशव अपाचुले ४० रन बनाए। उसका अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा नेपालका कप्तान हेमन्त धामी र नरेन साउदले चार चार विकेट लिन सफल भए। हेमन्तले ५.१ ओभरमा १ मेडन राख्दा १६ रन दिए। नरेनले १० ओभरमा ३ मेडन राखे भने २० रन खर्चिए। दयानन्द मण्डल र सन्तोष यादवको नाममा एक एक विकेट रह्यो।
यसअघि बुधबार मुलपानी मैदानमा भएको पहिलो खेलमा नेपाली टोलीमाथि कर्नाटकले एक विकेटको जित निकालेको थियो।
अब नेपाल र कर्नाटकबीच मंसिर २, मंसिर ४ र मंसिर ६ मा बाँकी खेल हुनेछन्।