न्यूरोड फूटपाथ विस्तारमा विरोधी सडक बिभागले गौशालाको संरचना हटाउन महानगरको सहयोग किन माग्यो?
काठमाडौं– ३० बर्षदेखि चक्रपथ सडकको जग्गामा पर्नेगरी खडा गरिएका भौतिक संरचना काठमाडौं महानगरपालिकाको डोजरले भत्काएको छ। यो संरचना भत्काउनका लागि क्षेत्राधिकार रहेको सडक विभागले महानगरपालिकाको सहयोग माग गरेको थियो।
नगर प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थितिमा शुक्रबार महानगरले अतिक्रमित संरचनामा डोजर चलाएको हो।
महानगरले डोजर चलाउँदा स्थानीय अवरोधमा उत्रिएका थिए। जसमध्ये एक अभियन्ता सुमन सायमी पनि एक थिए। उनी काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवार रहेका व्यक्ति पनि हुन्। उनलाई नेपाल प्रहरीले झ्यानाकुट्टी बनाउँदै पक्राउ गरी गौशाला वृत्तमा लगेको थियो।
सायमीसहितका केही युवा डोजर अगाडि उत्रिएर सडकमै सुतेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा नै लिएको थियो। चक्रपथ सडक सीमा २५ मिटर तोकिएको छ। सीमाभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको हो।
चक्रपथ सडक संघीय सरकारको सडक विभाग मातहत भए पनि महानगरपालिकाको अग्रसरताले मात्र संरचना भत्काउनका लागि सहज भएको हो।
स्मरणीय के छ भने ३० बर्षसम्म संघीय सरकारले उक्त संरचना भत्काउने आँट गरेको थिएन। अर्को अचम्म के भने महानगरले न्यूरोडको फूटपाथ बढाउनका लागि गरेको काममा सडक विभागले हस्तक्षेप गरेको थियो। फूटपाथको टाली लगाउनका लागि सारिएका बारलाई रातारात उही ठाउँमा लगेर विभागले कालोपत्रे समेत गरेको थियो।
विभाग र महानगरबीच क्षेत्राधिकारको विवाद देखिने भएपछि विभागले उसको क्षेत्राधिकारभित्र पर्ने सडक पेटीका बिजुली पोलमा ‘सवि’ भनेर पनि लेखेको अहिले पनि पाइन्छ। तर, जहाँ अप्ठ्यारो परेको थियो त्यहाँ भने महानगरको सहयोग लिन विभाग बाध्य भयो।