Nic Ad Nic Ad
Nic Ad Nic Ad
एनपीएल

कप्तान सोमपाल कामी, ओपनर शिखर धवन : असम्भव केही रहेनछ, भारतभरी हल्ला चलेछ!

शुक्रबार, कात्तिक ३०, २०८१

काठमाडौं– टी–२० क्रिकेटको क्लव स्तरीय विश्व चर्चित लिग हो– इन्डियन प्रिमियर लिग (आईपीएल)। 

नेपाली खेलाडी सन्दीप लामिछानेले आईपीएलको कमजोर मानिएको दिल्ली डेयरडेभिल्सबाट बलिङ गर्दा मात्रै पनि नेपालीमाझ ठूलो खुसीयाली थियो।

लगभग आईपीएलकै भनक दिने नेपाल क्रिकेट लिग (एनपीएल) पनि अगाडि बढ्यो। यो क्रिकेटमा नेपालको अभ्युदयका निम्ति असाधारण मौका हो, खेलाडी जन्माउने प्ल्याटफर्म हो र क्रिकेटप्रति भविष्य देख्नेहरूको सपना। 

अझ त्यसमा सुगन्ध बनिरहेका छन्– टेस्ट खेलीसकेका, विश्वकप जिताइसकेका, विस्फोट ब्याट्सम्यानदेखिका विभिन्न खेलाडी विभिन्न क्लवमा आवद्ध हुनु। 

र, आजको चर्चाचाहिँ भारतीय राष्ट्रिय टोलीमा ओपनर रही विस्फोटक ब्याटिङ गर्ने शिखर धवनको आबद्धताको। क्रिकेट खेलाडीहरूको सपना हुन्थ्यो होला सायद– शिखर धवनसँग पिच साझेदारी गर्ने। 

यो सपनालाई साकार पारेका छन्, कर्णाली याक्सका खेलाडीहरूले। अझ त्यो भन्दा पनि असोचनिय सपनाचाहिँ के हो भने– कप्तान सोमपाल कामी अनि ओपनर शिखर धवन।

crick-1731677281.jpg
असम्भव केही रहेनछ। सम्भवतः यस्तो दिन पनि आउँछ भन्ने सोमपाल कामीले नै सोचेका पनि थिएनन् होला।

एउटा उक्ति थियो– क्रिकेट मूर्खहरूले खेल्ने र महामूर्खहरूले हेर्ने खेल हो। संसारलाई आकर्षित गरिरहेको क्रिकेटको यो चरणको विकास र तिव्र गतिको हाँकले भन्छ– सज्जनहरू राजनीति गर, देशको नाम क्रिकेटबाट मूर्खहरूले नै चिनाउनेछन्।

धवनको कर्णालीमा आवद्धताले अहिले भारतीय मिडिया, युट्युव च्यानलहरू गुञ्जयमान छन्। नेपालको नामै नसुनेका कतिपय भारतीयले पनि धवनसँग जोडेर एनपीएलको चर्चा सुरु गरेका छन्। 

भारतको चल्तीको अखबर टाइम्स अफ इन्डिया लेख्छ,‘रिटार्यमेन्ट घोषणा गरेका शिखर धवनले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग खेल्ने।’

toi-1731677196.jpg
क्रिकेटको मात्र खबर लेख्ने नयाँ दिल्लीमा मुख्य कार्यालय रहेको क्रिकेट डटकमले पनि धवनको कर्णाली याक्सको आवद्धलाई प्राथमिकताका साथ लेखेको छ। उसले भनेको छ,‘नेपाल क्रिकेट लिगमा पहिलो भारतीय खेलाडीका रुपमा कर्णाली याक्सले शिखर धवनलाई पाएको छ।’

भारतका खेलसम्बन्धी चर्चित रहेका युट्युव च्यानल स्पोर्टस् नाउ, न्यूज बुक, दी क्रिकेट नर्डलगायतले पनि ठूला ठूला भिडिओ रिपोर्ट र कभरेज गरेका छन्।

धवनलाई भारतीय क्रिकेटमा ‘गब्बर’ भनेर सम्बोधन गरिन्छ। उनै गब्बरको एनपीएल आबद्धता, स्टार स्पोर्टस्को प्रत्यक्ष प्रशारणलगायतले नेपाली क्रिकेटको स्तर निक्कै उक्लिएको छ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १९:१७
प्रतिक्रिया दिनुहोस्