आर्जुले उहिले पति देउवालाई किचनमा भनेकी थिइन्– प्रचण्ड भन्ने मान्छेको भर छैन, कथा रोचक छ
काठमाडौं– नेपाली कांग्रेसभित्रको प्रतिपक्षी कित्तामा रहेका बेला शेरबहादुर देउवालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा सरप्राइज भेट गरे।
अचेल तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर गल्ती भएको स्वीकार गर्ने प्रचण्डले त्यसबेला बिना सूचना बुढानिलकण्ठ पुगेर देउवासँग डिनरको अफर गरेका थिए।
डिनरकै क्रममा प्रचण्डले भनेका थिए,‘अब प्रधानमन्त्री त तपाई बन्नुपर्छ। गिरिजाप्रसाद कोइरालाले कति खाने?’
देउवा मख्ख पनि परेका थिए।
तर जब प्रचण्डले लट्याएँ भन्ने ठानेका थिए अनि रोचक बन्यो बुढानिलकण्ठको माहौल। सोही बैठकको बारेमा देउवा पत्नी हालकी परराष्ट्रमन्त्री आरजु राणाले पतिलाई भनिन्,‘यो प्रचण्ड भन्ने मान्छेको भर छैन, कुरा नपत्याउनु है।’
देउवानिकटले जानकारी दिएको यो विषयको तारतम्य अर्को ठाउँमा पनि फिट हुन्छ। जब नेकपा घोषणा गर्ने बेला एमाले र माओवादीको गठबन्धनमा राजी हुने सहमति भयो अनि प्रचण्ड आफ्ना सन्तानसहित लन्च गर्न एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकहाँ पुगेका थिए।
उच्च स्रोतका अनुसार पोखरेललाई पनि नेकपाको बलियो नेताका रुपमा उदाएर प्रधानमन्त्री बन्नका लागि प्रचण्डले प्रस्ताव गरेका थिए।
पोखरेलले खासै वास्ता नगरेका कारण उनले नेकपा सचिवालयमा अध्यक्ष तथा हालका प्रधानमन्त्री ओलीसँग चिढिएका माधवकुमार नेपालको साथ खोजे।
यसैकारण पनि माधवकुमार नेपाललको विश्वास जित्न चीन भ्रमणमा रहेका तत्कालिन नेकपाका तेस्रो बरियताका नेता झलनाथ खनाललाई नेकपामा चौथोमा राख्न भ्याए। माधव नेपाल तेस्रोमा उक्लिए।
यी सबै उदाहरण प्रचण्डको दुई लाइन संघर्षमा खेल्ने आदत र विश्वासको आधारशिला नभएको विषयतिर सांकेतिक छन्। त्यसैले पूर्वमाओवादी एकताको विषय आउनासाथ पीडित बनाइएका डा. बाबुराम भट्टराईले भनेका छन्,‘प्रचण्डलाई विश्वास गर्न सकिन्न।’
कथा यति मात्र होइन। यसको सारांशका अन्य भाग पनि छन्।
आफ्नो दलमा मात्र हैन, अन्य दलमा पनि दुई फरक विन्दुमा उभिएका शक्तिशाली नेतासँग सेप्रेट भेट गर्ने प्रचण्डको बानी छ।
विश्वासमा लिने नाममा अध्ययन गरी कतातिर ढल्किँदा ठिक हुन्छ समयानुकुल त्यतातिरै लम्किने प्रचण्डको बानी छ। अब दलभन्दा पनि माथि उठेर कुर्सी प्राप्तिका लागि उनी देशतिर लम्किन थाले।
उनको शक्ति परालको त्यान्द्रो हुने स्थितिमा पुग्नेगरी क्षयीकरण भएपछि चीन र भारतसँग सोही शैली अपनाउन थालेका छन्। त्यसको तात्तातो उदाहरण हो– दी हिन्दूमा दिएको अन्तरवार्ता।
उनले त्यसमा भनेका छन्,‘ओली चीन कार्ड खेल्दैछन्।’ यो असामान्य विषय हो। नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेपको आक्षेप सहिरहेको भारतको दबाबबीच त्यहाँको अखबारमा अन्तरवार्ता दिँदा उठाएको विषय असामान्य रहेको स्पष्ट नै बुझिन्छ।
आफ्नो देशभित्रका प्रधानमन्त्री ओलीका विषयमा उनले दिएको अभिव्यक्तिलाई कुटनीतिक वृत्तमा राम्रो मानिएको छैन जबकि उनी यसअघिका प्रधानमन्त्री थिए।
त्यसो त प्रचण्डका अन्य आदत र किस्सा कम छैनन्।
पूर्वप्रधान सेनापति रुक्माङ्गत कटुवालको जीवनीमा आधारित पुस्तकलाई सत्य मान्ने हो भने गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हुँदा नै प्रचण्डले ‘दाई’ सम्बोधन गरेका थिए।
प्रधानसेनापति परिवर्तन गरी कुलबहादुर खड्कालाई ल्याउने निर्णयको पूर्वसन्ध्यामा कटवालसँग प्रचचण्डले ‘दाई छाड्दिन पर्यो’ भनेको त पुस्तकमा नै उल्लेख छ। यहाँ पनि उनले आफू अनुकुलताको शक्ति प्रयोग गर्नका लागि नयाँ तिकडम गरेका थिए।
प्रचण्डका गाथा यतिमा कहाँ सकिन्छ र? जब एमालेबाट माधवकुमार नेपाल प्रधानमन्त्री भए उनले सदनमा नै भनेका थिए,‘यो सरकारको रिमोट कन्ट्रोल भारतबाट चलेको छ।’ यसबेला उनी नौ महिनाको कार्यकालमा अपदस्त भइसकेका थिए। उनी भर्खरै चीन भ्रमणका क्रममा ओलम्किको छेको मिलाएर तत्कालिन चिनियाँ राष्ट्राध्यक्ष हु जिन ताओलाई भेटेर फर्किएका थिए।
६ दिनसम्म सिंहदरबार घेराउदेखि नेपाल बन्दको आन्दोलन चलाउँदा पनि तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल टस न मस भएपछि प्रचण्ड आफैं गले। सदनको सबैभन्दा ठूलो दलका नेता रहेका उनले आन्दोलनले नसकेपछि नयाँ तिकडम गरे र आठौं महाधिवेशनबाट एमालेको अध्यक्षमा निर्वाचित भएर आएका झलनाथ खनाललाई ७ वटा बुँदाको गोप्य सहमति गरी प्रधानमन्त्री बनाए। त्यहि बखत हो, हालका राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीका १८ चोटीको दौडमा असफल भएका।
सत्ताबाहिर रहेका प्रचण्ड अहिले अचम्मको अवस्थामा छन्। सदनका दुई ठूला दल मिलेर सत्ताबाट घुयँत्रो हानिदिएपछि रन्थनिएका प्रचण्डले विपक्षीको मोर्चा बनाएका छन्, रास्वपाको साथका निम्ति। त्यसअघि साथ पाउने आशमा समाजवादी मोर्चा बनाएका थिए, त्यो यसै लथालिङ्ग छ।