Nic Ad Nic Ad
Nic Ad Nic Ad

भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक छ : प्रचण्ड

शुक्रबार, कात्तिक ३०, २०८१

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक रहेको बताएका छन् । 

आज सोमत घिमिरेद्वारा लिखित ‘सामुदायिक समाजवाद’ पुस्तक सार्वजनिक गर्दै अध्यक्ष दाहालले समाजवाद जबरजस्ती थोपरेर आउने कुरा नभएको सुनाए । कुनै पार्टीका दस्ताबेजमा लेखेर या अरु देशको नक्कल गरेर वास्तविक समाजवादको मर्म पूरा नहुने उनको भनाइ थियो । “वास्तविक समाजवाद न कुनै किताबका पानाबाट निस्कन्छ न पार्टीका उपदेशबाट”, उनले भने, “समाजवाद जगैदेखि निर्माण गर्ने कुरा हो । हामीले अब समाजवाद उमार्नु छ, समाजवाद थोपर्नु होइन ।” अध्यक्ष दाहालले मुलुकमा समाजवादको वैचारिक बहस गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । 

पुस्तकका लेखक घिमिरेको लेखनमाथि समीक्षा गर्दै उनले आफ्नो पार्टीले ‘२१औँ शताब्दीको नयाँ जनवाद’ पुस्तक निकालेर जनताको समाजवादको विषय उठान गर्दै आएको बताए । अध्यक्ष दाहालले उक्त दस्ताबेजमा असली समाजवादमा जनताको नियन्त्रण, निगरानी र सक्रिय हस्तक्षेपको कुरा उल्लेख गरिएको बताए । 

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले २०४६ सालदेखि जनताले समाजवादको भाषण मात्रै सुन्दै आएको तर अहिले पनि व्यवहारमा लागू हुन नसकेको टिप्पणी गरे। समाजवादले जनताको भोको पेटसँग प्रत्यक्ष सरोकार राख्ने भए पनि नेपालको राजनीतिक दल सत्तामुखी भएको बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले समाजवादबाटै सीमान्तकृत समुदायको मुक्ति सम्भव हुने र आफ्नो पार्टी यसैका आधारमा संघर्षरत रहेको बताए । आदिवासी जनजाति अधिकारकर्मी सरु सिंरुक लिम्बूले लेखक घिमिरेको पुस्तकमा समाजवादको वास्तविक मार्गदर्शन चित्रण भएको टिप्पणी गरे ।

घिमिरेको पुस्तक मदानी बुक्सले प्रकाशन गरेको हो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  २०:५५
प्रतिक्रिया दिनुहोस्