Nic Ad Nic Ad
Nic Ad Nic Ad

राज्माखेतीमा ढुसीको संक्रमण

शनिबार, मंसिर १, २०८१

नारायणगढ (चितवन) - जिल्लाको खैरहनी नगरपालिकामा लगाइएको राज्माखेतीमा ढुसीको संक्रमण देखिएको छ । खैरहनी नगरपालिका वडा नं ५, ६, १० र १३ मा जरा कुहिने, ओइलाउने रोग देखिएकामा रोगी बोटको नमूना खैरहनी नगरपालिकाको ल्याबमा कल्चर गरी अध्ययन गर्दा फ्युसारियम, पाइथ्यम र राइजोक्टोनियाजस्ता ढुसी देखिएको नगरपालिकाको कृषि विकास शाखाले जनाएको छ ।

पालिकाका कृषि विकास अधिकृत गौरव न्यौपानेका अनुसार किसानले बीउ रोपेको १५ देखि २० दिनमा राज्माको बोटमा ढुसीको सङ्क्रमण देखिएको हो । उनले भने, “किसानहरू राज्मामा रोग लाग्यो भनेर पालिका आउनुभएको छ । हामीले खेतबाट नमूना ल्याई ल्याबमा कल्चर गरी अध्ययन गर्दा राज्मामा ढुसी देखिएको पाइयो ।” हाल देखिएको ढुसीको समयमा उपचार गरेमा उत्पादनमा कुनै असुर नगर्ने न्यौपानेले बताए । उनले विज्ञको परामर्श लिएर उपचार गर्न किसानलाई सुझाव दिइएको बताए। 


अधिकृत न्यौपानेले ढुसीको सङ्क्रमण मुख्यतः सङ्क्रमित बीउ, माटो र हावापानीका कारणले हुने बताए । खेती लगाउँदा राम्रोसँग बीउको उपचार गरेर मात्र लगाउन उनको आग्रह छ । हाल ढुसी पहिचान भएको बालीमा सरसफाइ गरी बेलुका वा शीतल समयमा ‘ट्राइकोड्रमा’ वा ‘स्युडोमोनस’ जैविक विषादी ५-१० ग्राम प्रतिलिटर पानीमा मिसाइ स्प्रे गर्ने र यदि रासायनिक विषादी प्रयोग गर्ने भएमा ‘कार्वेडाजिम’ ५० प्रतिशत ‘डब्लुपी’ विषादी एक ग्राम प्रतिलिटर पानीमा मिसाइ स्प्रे गर्न सकिने उनले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्