मनाङमा अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठक सम्पन्न
मनाङ- जिल्ला सुरक्षा समिति गोरखा र जिल्ला सुरक्षा समिति मनाङको सहभागितामा शुक्रवार जिल्ला प्रशासन कार्यालय, मनाङमा अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठक सम्पन्न भएको छ। बैठकले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र दुई जिल्लाको सीमाना प्रयोग गरी हुन सक्ने आपराधिक गतिविधिहरू रोक्न रणनीतिहरू तय गरेको छ।
बैठकमा शान्ति, सुरक्षा, तथा व्यवस्थालाई अझ प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको थियो। विशेषगरी, पर्यटक उद्दारलाई प्रभावकारी बनाउँदै सूचना आदानप्रदान र समन्वयलाई सुदृढ बनाउन निर्णय गरिएको प्रशासनलाई जानकारी प्राप्त भएको छ ।
बैठकमा सहभागी सुरक्षा अधिकारीहरूले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा समन्वयात्मक प्रयासको आवश्यकता औंल्याएका थिए। बैठकले दुई जिल्लाबीचको सहकार्यलाई सुदृढ गर्दै सुरक्षाको क्षेत्रमा दीर्घकालीन सुधारको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेको छ।
बैठकमा आगामी दिनमा सुरक्षालाई अझ प्रभावकारी बनाउन दुवै जिल्लाका सुरक्षा संयन्त्रहरूबीच नियमित समन्वय कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।