प्रचण्डको ‘चाइना कार्ड’ अभिव्यक्तिप्रति एमालेको आपत्ति
काठमाडौं - सत्तारूढ नेकपा एमालेले प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘चाइना कार्ड’ प्रयोग गरेर चीन भ्रमणमा जान लागेको भन्दै दिएको अभिव्यक्तिप्रति कडा आपक्ति जनाएको छ ।
माओवादी अध्यक्ष प्रचण्डले भारतीय अखबार ‘द हिन्दु’ सँगको अन्तर्वार्तामा दिएको उक्त अभिव्यक्तिको एमालेले ‘कडा शब्द’ मा भर्त्सना गरेको छ ।
एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठले शनिबार विज्ञप्ति जारी गर्दै प्रचण्डको उक्त अभिव्यक्ति गैरजिम्मेवार, नेपालको सार्वभौम प्रतिष्ठा र कूटनीतिलाई गहिरो गरी असर पार्ने खालको रहेको टिप्पणी गरेका छन् । त्यस्तो टिप्पणीले नेपालले सार्वभौम राष्ट्रका रूपमा आफै निर्णय लिन पाउने स्वतन्त्रताको अपमान गर्ने एमालेको ठहर छ ।
‘नेपाललाई कुनै पनि परराष्ट्रको अनुमोदन आवश्यक छैन । प्रधानमन्त्रीको चीन भ्रमण नेपालले पालना गरेको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिविम्ब हो, न कि ‘कार्ड कूटनीति’को हिस्सा, जस्तो भ्रामक रूपमा दाबी गरिएको छ’, एमाले सचिव एवं विदेश विभाग प्रमुख रघुवीर महासेठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यस्तो टिप्पणीले भारत र चीनसँगको सन्तुलित सम्बन्ध कायम गर्न नेपालले लिएको संवेदनशील र विचारशील दृष्टिकोणलाई कमजोर बनाउने एमालेको बुझाइ छ । ‘उनका ९प्रचण्ड० शब्दहरूले नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता र जनताको प्रतिष्ठामाथि प्रहार गरेका छन्’, विज्ञप्तिमा उल्लेख छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केही शर्मा ओलीले ऐतिहासिक नेतृत्व र परिपक्वता देखाएको एमालेले जनाएको छ । ओलीले नेपालको सार्वभौम हित र राष्ट्रिय स्वाभिमानलाई प्राथमिकतामा राख्दै भारत र चीनसँगको परस्पर आदरयुक्त सहकार्यलाई अघि बढाएका पनि जनाइएको छ । प्रचण्डको अभिव्यक्ति नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई हानि पुर्याउने खालको रहेको एमालेले जिकिर गरेको छ ।
‘नेकपा एमाले नेपालले भारत र चीनसँगको सन्तुलित सम्बन्ध कायम गर्न आफू कटिबद्ध रहेको पुनः पुष्टि गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘पुष्पकमल दाहाललाई आफ्नो गैरजिम्मेवार र विभाजनकारी अभिव्यक्तिहरू फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गर्दछ ।’ हालैको उक्त अन्तर्वार्तामा पूर्व प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री ओली यसपल्ट पहिलो विदेश भ्रमणका रूपमा चीन जान लागेका, त्यससँगै भारतसँगको नेपालको सम्बन्ध लगायत विषयमा आफ्नो विचार व्यक्त गरेका थिए ।