बाढीपीडितका लागि रोशी गाउँपालिकाको बजेट संशोधन, सघाउन २ करोड ८० लाख व्यवस्था
काभ्रेपलाञ्चोक- रोशी गाउँपालिकाले बाढीपीडितलाई सघाउन चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ। जाडोयाम सुरु भइसकेकाले गाउँपालिकाले तत्काल बाढीपीडितलाई सहयोग गर्न गाउँसभाको विशेष अधिवेशनले बजेट व्यवस्थापन गरेको हो।
गाउँसभाको १५औँ अधिवेशनले विपद्कोषमा २ करोड ८० लाख रुपैयाँ विनियोजन गर्दै आवश्यकताअनुसार पीडितलाई प्रदान गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए। सहायता रकम क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने छ।
रोशी गाउँपालिकामा बाढीपहिरोमा परी १२ जनाको ज्यान गएको थियो भने ४ सय ८२ घरमा पूर्ण र आठ सय ८३ घरमा आंशिक क्षति भएको थियो। यसैगरी, २ हजार ५ सय ४४ परिवारको खेतबारी क्षति भएको थियो।
बाढीले १ सय ६० खानेपानी आयोजना, एउटा पक्की पुल, ४ स्वास्थ्य केन्द्र, १० शय्याको अस्पताल, चिस्यान केन्द्र, औद्योगिक ग्राम र केही विद्यालयमा क्षति भएको थियो।