दर्शकको अत्याधिक माग आएपछि नेपालगञ्जमा मध्ये रातमा चलाइयो ‘ह्रस्व दीर्घ’
काठमाडौं - अभिनेत्री नीता ढुंगानाको अभिनय तथा लगानी रहेको सिनेमा ‘ह्रस्व दीर्घ’ले सुरुवाती दुई दिन आक्रामक व्यापार गरेको छ ।
शुक्रबार र शनिबार दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ पाएकाले वीक डेमा पनि राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ । यसबीच यो सिनेमाले नेपालगञ्जमा भने इतिहास रचेको छ । पहिलो पटक दर्शकको अत्याधिक माग भएपछि राती ११ः४५ बजे शो चलाइएको हल सिइओ रितेश श्रेष्ठले बताए । ‘हाम्रो हलमा शनिबार ४ शो दिएका थियौं । ती सवै शो हाउसफूल भएपछि दर्शकको डिमाण्ड अनुसार नै मध्ये रातमा शो चलाएको उनले बताए ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।
अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।