Nic Ad Nic Ad
Nic Ad Nic Ad
खेलाडी

भारतीय क्रिकेटको परोक्ष प्रभावले नेपालमा चम्किएका ‘क्रिकेट स्टार’हरू, सोमपालदेखि पूजासम्मको कथा

आइतबार, मंसिर २, २०८१

काठमाडौं– पछिल्लो समय नेपाली क्रिकेटलाई अझ बढी उचाइमा पुर्याउँन भारतले प्रत्यक्ष रुपमा सहयोग गर्नुपर्ने भन्ने बहस हुन थालेको छ। नेपाली क्रिकेट संघले पनि भारतसँग त्यही अपेक्षा गरिरहेको छ । 

केही समय अगाडि भारतका विदेशमन्त्री एस जयशंकर कुटनीतिक भेटघाटका लागि नेपाल आउँदा क्यानका पदाधिकारी र खेलाडीहरूले उनलाई भेटघाट गरेका थिए। भारतको सहयोगमा क्यान खेलाडीहरूको एक्सपोजर बढाउँन, घरेलु संरचनालाई मजबुत र व्यवस्थित पूर्वाधार लगाएता नेपाली क्रिकेटलाई टेवा पुग्ने विषयहरू गर्न चाहन्छ। 

नेपाली क्रिकेटले भारतसँग प्रत्यक्ष सहयोग मागे पनि अप्रत्यक्ष रुपमा भने नेपाली क्रिकेटमा यसको असर छ। 

सरकारी तथ्यांकअनुसार करिब २० लाख भन्दा बढी नेपाली अहिले भारतमा रहेर काम गरिरहेका छन्। केहीले आफ्ना सन्तानलाई समेत भारत लगेर शिक्षा दिक्षा लगाएतका पालन पोषण गरिरहेका छन्। 

यही क्रममा क्रिकेटमा रुची हुनेहरू नेपालीहरू भारतमा क्रिकेट सिक्ने मौका पाइरहेका छन्।

क्रिकेटलाई धर्म मान्ने भारतमा गल्ली गल्ली, शहर–शहरमा क्रिकेट खेलिने गरिन्छ। भारतको क्रिकेट संरचना निकै राम्रो रहेको छ। त्यहाँ भएका एकेडेमीहरूमा राम्रा प्रशिक्षकहरूले तालिम दिने गर्दछन्।

यसको फाइदा नेपाली खेलाडीहरूले लामो समयदेखि उठाएर नेपाली राष्ट्रिय टीममा पर्न सफल भएका छन् । 

भारतमा क्रिकेट सिकेका धेरै जसो खेलाडीहरू राष्ट्रिय टीमको महत्वपूर्ण खेलाडी भएका छन्। उनीहरूले भारतमा सिकेको शिप र कलाले नेपाली क्रिकेटलाई निकै टेवा पुगिरहेको छ। 

नेपाली क्रिकेटलाई यो उचाइसम्म पुर्याउँन खेलाडीले भारतमा सिकेको क्रिकेटले महत्वपूर्ण भूमिका खेलेको छ। 

पूजा महतो
हालसालै सम्पन्न भएको यू–१९ टि–२० विश्वकप छनौटमा पूजा महतोले आफ्नो नेतृत्वमा नेपाललाई पहिलो पटक महिला विश्वकप खेलाउन सफल भइन्। उनले उक्त प्रतियोगितामा ६९ बलमा नटआउट रहँदै १३० रन हानेर निकै दुर्लभ किर्तिमान बनाइन्। 

सानैदेखि बुवासँग भारतमा बसेकी पूजा क्रिकेट पनि उतै सिकेकी थिइन्। आफ्नो बुवाको प्रेरणा र मिहेनतले उनी नेपाली राष्ट्रिय टीमदेखि नेतृत्व समेत समाल्न सफल भइन्। 

उनका बुवाले उनलाई सानैदेखि भारतको एकेडेमीमा क्रिकेट खेल्नका लागि भर्ना गरेका थिए। उनले भारतमा सिकेको सीप र कलाले अहिले नेपाली महिला क्रिकेट टीममा नयाँ आयम थपिएको छ। 

उनले एउटा अन्तर्वातामा बुवा आमासँग बसेर भारत मै क्रिकेटलाई निरन्तरता दिने समेत बताएकी छिन्।  

सन्दिप लामिछाने 
स्याङ्जामा जन्मिएका सन्दिप बुबा भारतीय रेल्वे सेवामा काम गर्ने भएकाले उनको बाल्यकाल भारतमा बितेको थियो। त्यही समयमा उनले भारतमा क्रिकेट सिक्ने मौका पाएका थिए। 

पछि उनी नेपाल फर्किएपछि विस्तारै सबैको नजारमा पर्दै गएका थिए। उनले सानै उमेरमा राष्ट्रिय टीमदेखि इन्डियन प्रिमियर लिग (आईपीएल) सम्म खेल्ने मौका पाए। 

उनले क्रिकेटका सबै ठूला लिग प्रतियोगिताहरू खेलिसकेका छन्। सुरुवाती चरणदेखि नै नेपालका लागि महत्वपूर्ण खेलाडी बन्दै आएका छन्, सन्दीप। प्रतिद्वन्द्वीको विकेट लामो समयसम्म पनि झरेन भने टीमले र नेपाली समर्थकहरूले अहिले पनि उनलाई सम्झिने गरेका छन् । 

करण केसी 
नेपाललाई ओडिआईको मान्यता दिलाउन करणले ठूलो भूमिका खेलेका छन्। सन् २०१८ मा डिभिजन टू को खेल अन्तर्गत क्यानडा विरुदको खेलमा उनले नाटकीय प्रदर्शन गरेका थिए। 

४७ बलमा ५१ रन चाहिएको अवस्थामा करण केसीकै ब्याटिङको मद्धतमा नेपालले क्यानडालाई एक विकेटले हराएको थियो। जसमा करणले ३१ बलमा ४२ रन बनाएका थिए। यो क्षण नेपाली क्रिकेट इतिहासले कहिले पनि बिर्सिने छैन्। उनी सधैँ झै अहिले पनि नेपाली टीमको लागि निकै महत्वपूर्ण खेलाडी हुन्। 

बागलुङमा जन्मेका करणले पनि भारतमा नै क्रिकेट सिकेका हुन्। आफ्नो बाल्यकाल भारतमा बिताएका करण २०७१ सालमा नेपाल आएका थिए । त्यस लगत्तै उनी सबैको आँखामा पर्ने गरेका छन्।

उनले भारतमा सिकेको शिप कलाले उनलाई छोटो समय मै राष्ट्रिय टीममा छनौट गर्न मद्दत गर्नुका साथै सबैको आकर्षणको केन्द्र समेत बने।

शक्ति गौचन
नेपाली क्रिकेटले कहिले पनि बिर्सन नसक्ने काम हो शक्ति गौचन। उनले नेपाली क्रिकेटलाई ठूलो योगदान दिएका छन् र अहिले पनि दिइरहेका छन्। 
उनका बुवा भारतीय सेनामा जागिरे भएको कारण शक्ति पनि भारतमा जन्मेका थिए। भारतको गल्लीमा खेलिने क्रिकेटले गर्दा उनमा पनि क्रिकेटको मोह बढेको थियो। 

उनले भारतमा विभिन्न क्रिकेटका प्रतियोगिता समेत खेलेका छन्। उनी मुम्बईमा भारतका लागि १५ वर्षमुनिको राष्ट्रिय टीममा छनोटका लागि क्लोज क्याम्पमा पनि बसे। 

‘अन्डर–१६’ को टीममा उनीसित गौतम गम्भीर पनि थिए। उनी  ‘रेस्ट अफ इन्डिया टीम’  छनोट पनि भए। तर हातमा चोटका कारण र पारिवारिक समस्याले गर्दा उनि बाहिरिनु पर्यो। त्यसपछि नेपाल फर्किएका शक्ति नेपालका लागि यू–१७ को कप्तान बने। 

त्यसबेलादेखि अहिलेसम्म पनि नेपाली क्रिकेटका लागि शक्ति धेरै खटिरहेका छन्। 

शरद भेष्वाकर 
नेपाललाई पहिलो पटक टी–२० विश्वकप पुर्याउँन सरदले हङकङ विरुद्ध २०१३ मा खेलेको अन्तिम ओभर नेपाली क्रिकेटले कहिले पनि बिर्सन सक्दैन्।

शरदले नेपाली क्रिकेटलाई ठूलो सपना देख्ने बाटो देखाएका थिए। दुबईमा जन्मेका सरदका बुवा भारतीय हुन भने आमा नेपाली हुन्। उनको क्रिकेट करिअरमा पनि भारतको प्रभाव रहेको छ। बुवा भारतीय भएका कारण उनको क्रिकेटमा रुची बढेको थियो। उनले बाल्यकालको केही समय भारतमा समेत क्रिकेट सिकेका थिए। 

सन् २००२ मा नेपाल आएर उमेर समूहको क्रिकेट खेलेका शरद अहिले पनि नेपाली क्रिकेटको महत्वपूर्ण तारा हुन्।  

गुल्शन झा
अहिलेको नेपाली क्रिकेटमा सबैभन्दा ठूलो नाम हो अलराउन्डर गुल्सन झा। टोलीका कान्छा खेलाडी गुल्सन नेपाली क्रिकेटका लागि आगामी दिनमा निकै महत्वपूर्ण खेलाडी हुन्। 

उनी एउटा खेलमा ५ विकेट लिने र अर्ध शतक हान्ने विश्व कै सबैभन्दा कान्छा खेलाडी समेत हुन्। सानै उमेरमा नेपाली क्रिकेटमा प्रभाव बनाइरहेका गुल्शन झाको पनि बाल्यकाल भारत मै बितेको थियो। 

उनले भारतको राँचीमा रहेको अरुणोदय क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका थिए। भारतमा रञ्जित ट्रफी खेलीसकेका खेलाडीहरूसँग क्रिकेट खेल्ने र सिक्ने मौका पाएका उनी पढाई नै छाडेर प्रधानमन्त्री कपको छनोट खेल्न नेपाल आए। 

त्यस लगत्तै उनि छोटो समयमै राष्ट्रिय टीममा पर्न सफल भएका थिए। १८ वर्षका गुल्शनले अझै पनि नेपाली क्रिकेटलाई धेरै दिनु बाँकी रहेको छ ।

सोमपाल कामी 

गुल्मीमा जन्मेका सोमपाल कामीको पनि बाल्यकाल भारत मै बितेको थियो। उनी र उनका परिवार भारतको पंजाबमा बस्ने गरेका थिए। भारतमा छँदा स्कुलस्तरका प्रतियोगिता खेले। पछि सोमपालले इन्डियन प्रिमियर कर्पोरेट लिग पनि खेले र त्यसमा उनले कप्तानीको अनुभव पनि बटुले। 

तर सन् २०१३ मा नेपाल फर्केपछि उनि घरेलु लिगको उमेर समूह प्रतियोगिता हुँदै राष्ट्रिय टीममा स्थान बनाउँन सफल भए। 

उनले नेपालको तर्फबाट १८ वर्ष कै उमेर सन् २०१४ मा भएको टी–२० विश्वकप समेत खेले। सोमपाल अहिले नेपाली टीमको महत्वपूर्ण बलर हुन्। भारतमा सिकेको सिप र कलाले उनले नेपाल आएर निखार्न पाए। जसको फाइदा नेपाली क्रिकेले उठाइरहेको छ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्