Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीले रास्वपाका नेतालाई किन समय दिएनन्, कारण यस्तो छ

आइतबार, मंसिर २, २०८१

काठमाडौं– प्रतिपक्षी मोर्चाको ज्ञापनपत्र बुझ्न समय नलाएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिसहितका नेताले ५ मिनेटको समय माग्दा बेवास्ता गरेका छन्। 

त्यो बेवास्ता भएपछि रास्वपाले प्रधानमन्त्री ओलीलाई बुझाउन तयार पारेको ज्ञापनपत्र पत्रकार सम्मेलन गरी आइतबार सार्वजनिक गरेको छ। सोही क्रममा कार्यबाहक प्रवक्ता मनिष झाले भने,‘५ दिनसम्म समय माग गरेका थियौं, ५ मिनेटलाई पनि प्रधानमन्त्रीले समय दिनुभएन।’

यति मात्र होइन प्रधानमन्त्री ओलीले रास्वपाको खिसिट्युरी गरेको पनि झाको भनाई थियो। उनले भने,‘कुनै कार्यक्रममा भाषण गर्ने क्रममा ज्ञापन लिएर आउँछन् होला फोटो खिचेर पठाउँला भनेर खिसिट्युरी गर्नुभयो, हामी आन्दोलनका कार्यक्रम यहि सार्वजनिक गर्न बाध्य भयौं।’

सभापति रवि लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठीत अपराधको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका कारण रास्वपा सडकमा आन्दोलित छ भने राज्यलाई आफ्ना माग सुनाउनका लागि समयको खोजी गरिरहेको थियो। 

यसअघि उपसापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले पनि समय माग गरेका थिए। तर, प्रधानमन्त्री ओली ब्यस्त भए, अनुनय बिनय मानेनन्। यहाँसम्मकी बालुवाटार पुगेर अर्याल र परियारले हिरासत बाहिर राखेर नै सभापतिलाई छानबिन गर्नका लागि याचना गरेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सार्वजनिक गरेका थिए। 

कुनै बेला रास्वपाको मुख्यालयमा घन्टी बजाउनका लागि पुगेका  प्रधानमन्त्री ओलीले देशको चौथो ठूलो दलका नेताहरूलाई भेट्ने समय किन नदिएका होलान्?

उच्च स्रोतका अनुसार लामिछानेले यो सरकार ढाल्नका लागि अदालत परिसरबाटै गरेको आह्वान गर्नु एक प्रमुख कारण हो। यसबाहेक, आन्दोलनका नाममा चितवनमा आफ्नो लास बनाएर सेलाएको र दिनैपिच्छे सरकार र प्रधानमन्त्रीविरुद्धमा नानाथरी नारा लागेका कारण ओली चिढिएका छन्।

कानुनले आफ्नो काम निरन्तर गरिरहने बताउँदै आएका प्रधानमन्त्रीले रास्वपा नेतालाई भेटेर अनुसन्धान भइरहेको विषयमा बोल्न नहुने भएकाले पनि समय नमिलेको बालुवाटारको दाबी छ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्