१० प्रतिशतले बढ्यो वैदेशिक लगानी प्रतिबद्धता
काठमाडौँ- वैदेशिक लगानीको प्रतिबद्धता १० प्रतिशतले बढेको छ। उद्योग विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु वर्षमा बढेको हो।
गत वर्ष साउन, भदौ, असोज र कात्तिक महिना गरी १५ अर्ब ४२ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो। यो वर्ष सोही अवधिमा १७ अर्ब तीन करोड रुपैयाँको प्रतिबद्धता आएको छ।समग्र चार महिनामा प्रतिबद्धता बढे पनि कात्तिकमा भने घटेको छ। गत वर्ष कात्तिक महिनामा मात्रै तीन अर्ब ३० करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो। यो वर्ष भने दुई अर्ब रुपैयाँको आएको छ।
कात्तिक महिनामा ३३ वटा साना लगानीका र एउटा मध्यम लगानीको उद्योगको लागि लगानी स्वीकृत दिइएको छ।
चार महिनाको अवधिमा भने १२८ साना, एउटा मध्यम र दुई वटा ठुला उद्योगको लागि वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत भएको उद्योग विभागले जनाएको छ।
अटोमेटिक रूटबाट (मानिसको उपस्थिति बिना) एक अर्ब एक करोड रुपैयाँ बराबरको लगानीको लागि स्वीकृत दिइएको छ।
जसमध्ये दुई वटा उत्पादनमूलक उद्योगको लागि सात करोड ५० लाख रुपैयाँ, नौ वटा पर्यटनमूलक उद्योगको लागि ३२ करोड रुपैयाँ, पाँच वटा सेवामूलक उद्योगको लागि २८ करोड रुपैयाँ, दुई वटा सूचनामूलक उद्योगको लागि चार करोड रुपैयाँ लगानीको प्रतिबद्धता गरिएको छ।
त्यस्तै ५५ वटा सूचनामूलक उद्योगको लागि २९ करोड ८५ लाख रुपैयाँ लगानी प्रतिबद्धता अटोमेटिक रूटबाट गरिएको उद्योग विभागले जनाएको छ।