महाबु गाउँपालिका अध्यक्ष पदमा पाँच दलद्वारा उम्मेदवारी दर्ता
काठमाडौँ- दैलेखका महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि पाँच वटा दलले मनोनयन दर्ता गराएका छन्।
आइतबार नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एस) र राष्ट्रिय स्वतन्त्र पार्टीले मनोनयन दर्ता गराएका हुन्।नेपाली काँग्रेसबाट झलकबहादुर भण्डारी, नेकपा एमालेबाट जंगबहादुर शाही, नेकपा माओवादी केन्द्रबाट जंगबहादुर बराल, नेकपा एकीकृत समाजवादीबाट जगत हमाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश बुढाले उम्मेदवारी दर्ता गराएका हुन्।
एमालेबाट उम्मेदवार बनेका शाही यसअघि २०७४ मा नेकपा एमालेबाट महाबुको अध्यक्ष बनेका थिए। २०७९ को निर्वाचनमा उनी एकीकृत समाजवादीबाट उम्मेदवार बनेर पराजित भएका थिए। अहिले केही समयअघि मात्र एमालेमा फर्किएर उनी पुनः महाबुको अध्यक्ष उम्मेदवार बनेका हुन्।
यसअघि नेपाली काँग्रेसबाट निर्वाचित महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको २०७९ माघ २७ गते मृत्यु भएको हो।