Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी जोशीविरुद्ध काठमाडौंबाट पक्राउ पूर्जी जारी 

आइतबार, मंसिर २, २०८१

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल बन्जाडे जोशीविरुद्ध सहकारी ठगी प्रकरणमा पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ।

गोर्खा मिडिया नेटवर्कमा रहँदा काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

पक्राउ पूर्जी जारी भएसँगै अब अनुसन्धानका लागि लामिछानेसहितलाई काठमाडौं प्रहरीले पनि बयान लिनेछ। 

यही सहकारीको बचत अपचलन प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई सहित २४ जनाविरुद्ध यसअघि नै पक्राउ गर्न अदालतले अनुमति दिइसकेको छ।

गोर्खा मिडिया नेटवर्क तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछाने र तत्कालीन उपाध्यक्ष रहेका पूर्व डीआईजी जोशी हाल कास्की प्रहरीको हिरासतमा छन्। 

जीबीसहित स्वर्णलक्ष्मी सहकारीका उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता लामा, सदस्यद्वय हेमन्त अधिकारी र रविना रिमाल, पूर्वकर्जा उपसमिति सदस्य सुरज श्रेष्ठ, पूर्वकोषाध्यक्ष मीरा बम्जन, पूर्वसहसचिव माया राई र पूर्वप्रबन्धक नवीन अछामी छन् । पूर्वसञ्चालकहरू दीपक लामा, सविना आले मगर, भक्तबहादुर भोलन, यामकुमार नाल्बो, राजु बराल, पुनमकुमार चालिसे, प्रदीप लामा, सविता लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमल लामा, पूर्वकर्जा उपसमिति सदस्य राजु बरालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

लामिछाने र जोशी हाल सूर्यदर्शन सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा अनुसन्धानका क्रममा छन्।
 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्