Nic Ad Nic Ad
Nic Ad Nic Ad

ढुंगानाको निधनमा सभामुख घिमिरे र उपसभामुख रानाद्वारा श्रदाञ्जली व्यक्त

आइतबार, मंसिर २, २०८१

काठमाडौँ - प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगनाको निधनमा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले श्रदाञ्जली व्यक्त गरेका छन् । पूर्वसभामुख एवं लोकतान्त्रिक आन्दोलनका अगुवा र मानवअधिकारकर्मी ढुंगानाको आइतबार निधन भएको छ । 

सभामुख देवराज घिमिरेले शोक वक्तव्य जारी गर्दै ढुंगानाले नेपालको संसदीय अभ्यासलाई संस्थागत गर्न महत्त्वपूर्ण योगदान दिएको उल्लेख गरेका छन् । 'प्रतिनिधिसभाका पूर्वसभामुख एवं वरिष्ठ राजनीतिज्ञ दमननाथ ढुंगानाको निधनको खबरले अन्यन्तै दुःखी बनाएको छ । स्वर्गीय ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा, संसदीय अभ्यासका ज्ञाता र शान्ति प्रक्रियामा महत्वपूर्ण व्यक्तित्व हुनुहुन्थ्यो । २०४६ सालको जनआन्दोलनपछि भएको पहिलो आम निर्वाचनबाट सभामुख निर्वाचित हुनुभएका ढुंगानाले नेपालको संसदीय अभ्यासलाई संस्थागत गर्न महत्वपूर्ण योगदान दिनुभएको छ,' घिमिरेले भनेका छन् । ढुंगानाको लोकतन्त्रप्रतिको निष्ठा र इमान्दारीता सदैव स्मरणीय रहने सभामुखले उल्लेख गरेका छन ।

उपसभामुख रानाले श्रदाञ्जली वक्तव्यमा उल्लेख गरेकी छन्, 'नेपालको संवैधानिक र संसदीय इतिहासमा उहाँको विशिष्ट खालको योदान रहेको छ । उहाँलाई नेपाली जनताले संसदीय मूल्य र मान्यताको पक्षमा निष्पक्ष भएर भूमिका निर्वाह गर्ने सभामुखको रुपमा युगयुगसम्म सम्झनेछन् ।'

सभामुख घिमिरेले पूर्वसभामुख ढुंगानाले मानवअधिकारको रक्षा तथा सम्बर्धनका साथै नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सन्तुलित एवं ऐतिहासिक भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

ढुंगानाको निधनबाट नेपालीले एक प्रेरणादायी व्यक्तित्व र नेपालको संसद्ले अनुभवी अभिभावक गुमाएको घिमिरेको वक्तव्यमा उल्लेख छ ।

ढुंगानाको ८३ वर्षको उमेरमा काठमाडौंको फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो । ढुंगानाले नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । गणतन्त्र स्थापनाका लागि भएको २०६२/०६३ को आन्दोलनमा नागरिक आन्दोलनको अगुवाइ गर्नेमा ढुंगाना पनि थिए । वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगानाले लामो समय वकालत पेसा अंगालेका थिए ।

नागरिक अधिकार र लोकतान्त्रिक व्यवस्थाको सदृढीकरणका लागि निरन्तर लड्दै आएका ढुंगाना लामो समय सक्रिय राजनीतिमा नरहेपनि उनको विचार र उपस्थिति भने भइरहेको थियो । राज्य सत्ताको विपक्षीमा र लोकतन्त्रको पक्षमा आवाज उठाउँदै आएका थिए । यस हिसाब उनी सत्तालाई खबरदारी गरिरहने प्रतिपक्षी नेता जस्ता थिए ।

२०४८ सालमा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा ढुंगाना निर्वाचित भएका थिए । त्यसपछि उनी सभामुख भए । ०४८ देखि ०५१ सम्म उनी सभामुख भएर काम गरे । ०५१ मा पनि उनी चुनाव लडे, तर जित्न सकेनन् । पछिल्लोपटक ०७४ मा भक्तपुर–२ बाट चुनावी प्रतिस्पर्धा गरेका थिए । त्यहाँबाट पनि सफल हुन नसकेपछि उनले सक्रिय राजनीति छाडेका थिए ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्