राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस, गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
काठमाडौँ - नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको छ ।
अर्थ मन्त्रालयमा आज आयोजित एक औपचारिक कार्यक्रमबीच राष्ट्र बैंकले वार्षिक प्रतिवेदन बुझाएको हो । वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा चालु खाता रू. दुई खर्ब २१ अर्ब ३४ करोडले र शोधनान्तर स्थिति रू. पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ ।
गत असार मसान्तमा कूल विदेशी विनिमय सञ्चिति रू. २० खर्ब ४१ अर्ब १० करोड बराबर कायम भएको छ । विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । यो अवधिमा कायम रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्षमा नेपाल सरकारको अन्य प्राप्तिसमेत गरी रू १० खर्ब ८२ अर्ब ७५ करोड राजस्व संकलन भएको र कूल सरकारी खर्च रू. १४ खर्ब आठ अर्ब दुई करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा विस्तृत मुद्रा प्रदाय १३ प्रतिशतले बढेको र संकुचित मुद्रा प्रदाय एक दशमलव तीन प्रतिशतले घटेको छ । त्यसैगरी, कूल आन्तरिक कर्जा ६ दशमलव एक प्रतिशतले तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६ दशमलव एक प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव आठ प्रतिशतले बढेको छ ।
प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा खुला बजार कारोबारका विभिन्न उपकरणमार्फत कूल रू. ४६ खर्ब ७३ अर्ब ६० करोड तरलता प्रशोधन गरिएको छ भने कूल रू. आठ खर्ब आठ अर्ब ७६ करोड तरलता प्रवाह गरिएको छ । समीक्षा वर्षमा रू. एक अर्ब २० करोड स्थायी तरलता सुविधा उपयोग भएको प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको भारित औसत अन्तरबैंक दर तीन दशमलव ६२ प्रतिशत रहेको छ । राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या एक सय सात रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त संस्था र एउटा विकास बैंक रहेका छन् । गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार पाँच सय ३० रहेको छ ।
गत आर्थिक वर्षमा वाणिज्य बैंकको कूल सम्पत्ति/दायित्व १२ दशमलव नौ प्रतिशतले वृद्धि भई रू. ७२ खर्ब २७ अर्ब ६० करोड, विकास बैंकको सात दशमलव नौ प्रतिशतले वृद्धि भई रू. सात खर्ब १७ अर्ब र वित्त कम्पनीहरूको ११ दशमलव दुई प्रतिशतले वृद्धि भई रू. एक खर्ब ६९ अर्ब ७२ करोड कायम भएको छ । त्यसैगरी, लघुवित्त वित्तीय संस्थाको कूल सम्पत्ति/दायित्व एक दशमलव तीन प्रतिशतले घटेर रू. पाँच खर्ब ५३ अर्ब ७३ करोड कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तसम्म रू. दुई खर्ब ५७ अर्ब ७२ करोड कर्जा र रु. १४ खर्ब ३० अर्ब ४६ करोड निक्षेप सुरक्षण गरेको छ । कर्जा सूचना केन्द्रबाट आर्थिक वर्ष २०८०/८१ मा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी र ५७ लघुवित्त वित्तीय संस्थाले जम्मा ५८ लाख १५ हजार सात सय ३५ कर्जाको सूचना माग गरेका थिए । उक्त केन्द्रमा कालो सूचीमा सूचीकृत ऋणीहरूको सङ्ख्या ९४ हजार चार सय ७७ रहेको छ ।
गत असार मसान्तमा नेप्से सूचकांक दुई हजार दुई सय ४० को विन्दुमा रहेको छ भने बजार पुँजीकरण रू. ३५ खर्ब ५३ अर्ब ६८ करोड कायम भएको छ । बजार पुँजीकरणको कूल गार्हस्थ्य उत्पादनसँगको अनुपात ६२ दशमलव २९ प्रतिशत रहेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा उल्लिखित सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित व्यवस्था, लघुवित्त वित्तीय संस्थाको मर्जर र प्राप्तिलाई प्रोत्साहनसम्बन्धी व्यवस्था, राष्ट्रियस्तरका विकास बैंकले ‘क्यापिटल एडिक्युसी फ्रेमवर्क, २०१५’ अनुसार पुँजी कोष कायम गर्नुपर्ने व्यवस्था, बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीसम्बन्धी व्यवस्था, तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने सम्बन्धी व्यवस्था र बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा/सुविधा उपयोग गर्ने ऋणीहरूले अनिवार्यरुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंक र वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीको वासलातको आधारमा मौद्रिक सर्वेक्षण तयार गरी प्रकाशन गरिँदै आएकामा आर्थिक वर्ष २०८०/८१ देखि बीमा कम्पनीहरू, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र नेपाल पूर्वाधार बैंकसमेतलाई समेटी “वित्तीय क्षेत्र सर्वेक्षण” प्रकाशन गर्न सुरु गरिएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, गत आर्थिक वर्षमा रू. ७३ अर्ब ९९ करोड ९० लाख बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोटहरू चलनचल्तीको लागि निष्कासन गरिएका थिए । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा कूल रू. ६ खर्ब ९० अर्ब १५ करोड बराबरका विभिन्न दरका नोटहरू चलनचल्तीमा छन् ।
गत आर्थिक वर्ष मा रू. १० अर्ब २९ करोड बराबरको विदेशी लगानी र रू. ५८ अर्ब ९६ करोड बराबरको विदेशी ऋणको लेखांकन भएको राष्ट्र बैंकले जनाएको छ । प्रतिवेदनअनुसार विश्व आर्थिक वृद्धिदर सन् २०२४ र सन् २०२५ मा तीन दशमलव दुई प्रतिशत रहने प्रक्षेपण छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा २०२४ अक्टोबरमा प्रकाशित ‘वल्र्ड इकोनोमिक आउटलुक’ अनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर तीन दशमलव छ प्रतिशत रहेकोमा सन् २०२३ मा तीन दशमलव तीन प्रतिशत रहेको छ । सन् २०२४ मा विकसित देशमा उपभोक्ता मुद्रास्फीति दुई दशमलव ६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा सात दशमलव नौ प्रतिशत रहने अनुमान छ । सन् २०२३ मा उपभोक्ता मुद्रास्फीति विकसित देशमा चार दशमलव छ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशमा आठ दशमलव एक प्रतिशत रहेको थियो ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको कूल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा तीन दशमलव ५४ प्रतिशतले बढेको प्रारम्भिक अनुमान छ । समीक्षा वर्षमा आधारभूत मूल्यमा कृषि क्षेत्रको उत्पादन तीन दशमलव ०५ प्रतिशतले र गैर-कृषि क्षेत्रको उत्पादन तीन दशमलव ७५ प्रतिशतले बढेको अनुमान छ ।
आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति २०८० साउन ७ गते सार्वजनिक गरिएको थियो । वार्षिक औसत उपभोक्ता मुद्रास्फीति छ दशमलव पाँच प्रतिशतभित्र कायम राख्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो । साथै न्यूनतम सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा औसत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति सात दशमलव ७४ प्रतिशत रहेको थियो । गत आर्थिक वर्ष २०८०/८१ मा कूल वस्तु निर्यातमा तीन प्रतिशतले कमी आई रू. एक खर्ब ५२ अर्ब ३८ करोड र कूल वस्तु आयातमा एक दशमलव दुई प्रतिशतले कमी आई रू. १५ खर्ब ९२ अर्ब ९९ करोड छ ।
समीक्षा वर्षमा कूल वस्तु व्यापार घाटा एक प्रतिशतले घटेर रू. १४ खर्ब ४० अर्ब ६० करोड रहेको छ । यो कूल गार्हस्थ्य उत्पादनको २५ दशमलव तीन प्रतिशत हो ।