Nic Ad Nic Ad
Nic Ad Nic Ad

गुन्डा नाइके सत्यमान लामा पक्राउ, एमाले नेत्री नबीना लामासँग जोडिएको छ अर्को कथा

सोमबार, मंसिर ३, २०८१

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले काभ्रे घर भएका गुन्डा नाइके सत्यमान लामालाई पक्राउ गरेको छ। अर्का गुन्डा नाइके दावा लामाका सहयोगी समेत रहेका उनलाई बैंकिङ कसुर मुद्दामा भएको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको परिसरले जनाएको छ।

चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको थियो। काठमाडौं महानगरपालिका–४ बस्दै आएका लामालाई पक्राउ गरी अदालतमा उपस्थित गराएर जेल चलान गरिनेछ। 

जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो। राजनीतिक आडमा उनी साजयबाट छल्ने प्रयासमा रहेका थिए। 

२०७५ सालमा किसानको बुद्धचित्त माला लुटपाट गरेको आरोपमा पक्राउ गरिएका सत्यमान लामालाई छुटाउनका लागि एमाले नेत्री नबिना लामा प्रहरीलाई दबाब दिन पुग्दा विवाद भएको थियो। 

त्यसबेला नबीनाले दबाब दिए पनि तत्कालि अपराध महाशाखा प्रमुख पूर्वआईजी धिरज प्रताप सिंहले लामालाई छाडेका थिएनन्। सत्यमान पटक–पटक ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्ति हुन्।

उनलाई अपराध महाशाखाले काभ्रेको तेमालमा भूकम्प पीडितका लागि अस्पताल बनाउँछु भनी एक करोड ७५ लाख ठगेको आरोपमा पक्राउ गरेको थियो।
 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्