स्थानीय तह उपनिर्वाचनः यसकारण रास्वपाका निम्ति ‘माइक्रो’ परिक्षा
काठमाडौं– ४४ स्थानको स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको आगामी उपनिर्वाचनमा कुन दलको हैसियत के हो भन्ने आम मतदाताले सूक्ष्म परिक्षा लिँदैछन्।
यस क्रममा पहिलो पटक स्थानीय तहको निर्वाचनमा २६ ठाउँमा उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लागि यो अहम् मात्र छैन, माइक्रो परिक्षा पनि हो। किनभने उसले स्थानीय तहको अघिल्लो निर्वाचनमा भाग लिएको थिएन।
२६ स्थानमा उम्मेदवारी दिए पनि जिल्ला समन्वय समितिमा रास्वपा प्रवेश गर्न चाहेन। किनभने, उसको उम्मेदवारी त्यहाँ अर्थहिन हुने देखियो।
जिल्ला समन्वय समितिमा उम्मेदवारी नदिए पनि खास भनिएको किर्तिपुर नगरपालिकामा रास्वपाले प्रमुखको उम्मेदवार बनाउन मान्छे पाएन। यो, एउटा भयानक सोचनिय प्रश्न हो।
काठमाडौंबाट सर्वाधिक मत पाएको रास्वपाले यहि जिल्लाको महत्वपूर्ण पालिकामा किन उम्मेदवार भेटेन? किन उम्मेदवारी दिन चाहेन? उसको यस ठाउँको परिक्षण बाँकी रह्यो।
तर हिमालदेखि पहाड र मधेससम्ममा हुने उपनिर्वाचन अहिले सभापति रवि लामिछाने बचाऊका निम्ति सडकमा रहेको रास्वपाका निम्ति माइक्रो परिक्षा हो।
प्रतिपक्षमा भएपछि संगठन विस्तारमा हिँडेको र परिवर्तनको हाँक र हुँकार छाडिरहेको रास्वपा अहिले बिरोधाभाष भाष्यको मझधारमा छ। कारण, सभापति लामिछाने पक्राउ प्रकरणका बिरोध र जुलुस अनि आन्दोलन पनि हो।
यसका दुई विपरित परिणाम र कारण आउन सक्नेछन्। कि, रास्वपा पूरै गलत छ उसले कानुनको मानमर्दन गरिरहेको छ भन्ने चेत जनतामा पुगेको हुनुपर्छ। कि, रास्वपामाथि सत्ताले अन्याय गरेको हो भन्ने विवेचनामा उसले उपनिर्वाचनमा साथ पाउनेछ।
अन्यथा, यी दुई परिणामबीचको मिश्रणको परिणाम आएको खण्डमा रास्वपको माइक्रो परिक्षाले नयाँ परिवर्तनकामी शक्तिका रुपमा अनुमोदन नगरेको ठहर्छन।
किनभने समाजको तल्लो तहको इकाईसम्मको निर्वाचन हुँदैछ। एउटा वडा नै नेपाली समाजको कानुनी हिसाबले र सरकारका हिसाबले सबैभन्दा तल्लो इकाई हो। त्यो ईकाइमा बस्ने जनताको जनमतले नै वडाबाट पालिका र पालिकाबाट संघसम्मको जनमतको परिक्षा स्पष्ट गर्नेछ।
प्रतिनिधि सभामा मात्र भाग लिएर समानुपातिकमा लगभग १२ लाख नजिक मत ल्याएको रास्वपाभित्र यसबीचमा निक्कै उतार चढाव भए।
पार्टी दुई पटक सत्तामा पुग्यो, सभापति लामिछानेको नागरिकता प्रकरण, पुनः निर्वाचित हुनु र एक सीट तनहुँमा थप्नुदेखि सहकारी प्रकरणमा फेरि हिरासतमा पुग्दासम्म असामान्य पक्ष विपक्षको बिगुल घन्किएको छ।
यहि बीचमा महामन्त्री रहेका मुकुल ढकालले धावा बोल्नु, कतिपय रास्वपाका नेताहरुले पार्टी छाड्नु। अनि लामिछानेका विवादका कारण भिड दुर्गा प्रसाईतिर लम्किनु तथा राप्रपातिर केन्द्रित हुनु पनि कारण बन्न सक्छन्। यति मात्र होइन, अर्को उप निर्वाचनका क्रममा इलाममा भएको पराजय पनि एउटा उदाहरण हो।
रास्वपाका २० सांसद र सबै केन्द्रीय सदस्यको एक स्वर छ। सभापतिमाथि अन्याय भयो भन्ने। यो स्वर र विरोधले समाजको तल्लो ईकाईलाई छोएको छ कि छैन भन्ने विषयको पनि परिक्षण हो, उपनिर्वाचन।
यसर्थ, यो माइक्रो परिक्षामा रास्वपासँग दुई वटा विकल्पमा राजनीतिक विषयको विश्लेषण गर्ने छुट हुनसक्छ। औसतले काम चल्दैन। कि डिङ्टिक्शन अथवा कि फेल यी दुई वटा स्पष्ट नतिजाले नै रास्वपाको राजनीतिक दिशानिर्देशको खाका कोर्नेछ।
एउटा राजनीतिक शक्ति बलियो बन्ने अभ्यासमा राज्यले गर्ने नियत भनेको अपराधको कसी, न्यायालयलाई प्रभावित बनाउने उद्वेलनामा हुँदैन। राजनीतिक संस्कारको लयमा हुन्छ। हेरौं, के नतिजा आउला।