Nic Ad Nic Ad
Nic Ad Nic Ad

तस्करी गरेर ल्याएको सुन बाटैमा लुटियो, लुटेरा समूहमा कांग्रेसका जिल्ला कोषाध्यक्ष पनि

सोमबार, मंसिर ३, २०८१

काठमाडौं– उपत्यका अपराध अनुसन्धान कार्यालयले रसुवाको केरूङ नाकाबाट ३ किलो सुन तस्करी गरेर काठमाडौं ल्याउँदै गर्दा गायब गर्ने चार जनालाई पक्राउ गरेको जनाएको छ।

रसुवाका ३१ वर्षीय बुद्धिबहादुर तामाङ, ३८ वर्षीय नुर्पु सिंगी तामाङ, ४४ वर्षीय टेम्पा नुर्पु तामाङ र ४८ वर्षीय गोपाल तामाङ पक्राउ गरी अनुसन्धान जारी राखिएको छ।

उनीहरूमाथि काठमाडौं महानगरपालिका वडा नम्बर १६ माछापोखरीबाट असोज ४ गते रसुवाका निमा छिरिङ तामाङ र रामकृष्ण वाइवालाई अपहरण गरी बन्धक बनाएको अभियोग समेत लागेको छ। 

तामाङ र वाइवालाई ट्याक्सीमा राखेर बूढानीलकण्ठको एक रिसोर्टमा लगेर बन्धक बनाइ कुटपिट गरेको प्रहरीको भनाइ छ।

रामकृष्ण वाइवा कन्टेनर चालक हुन्। निमा भने उनका मामाका छोरा पर्छन्। आफूहरूलाई अपहरण गरी कुटपिट गरेको भन्दै उनीहरूले जाहेरी दिएपछि चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

केही समयअगाडि रसुवाको केरूङ नाकाबाट तीन किलो सुन तस्करी भएको प्रहरीको अनुसन्धानमा खुलेको छ। पक्राउ पर्नेहरू र जाहेरवाला दुवै पक्ष रसुवाकै हुन्। उनीहरूबीच पुरानो चिनजानसमेत रहेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ।

त्यो सुन चीनबाट तस्करी गरी रसुवा नाका हुँदै काठमाडौं छिराइएको थियो। काठमाडौं पुग्न लाग्दा निमा सशस्त्र प्रहरी र राजश्वको टोलीसहित बालाजु पुगेका थिए। उनले कन्टेनर कहाँ पुगेको भनेर सोधीखोजी गरिरहेको पनि अनुसन्धानमा देखिएको छ।

राजश्व अनुसन्धान विभागले सुनको अनुसन्धान गर्न उनीहरूलाई ३१ दिनसम्म नियन्त्रणमा राख्यो। तर सुन फेला परेन। सुन गायब भएपछि उनीहरूलाई हिरासतबाट रिहा गरेको ती प्रहरीले बताए।

यसैबीच लुटेरा समूहमा नेपाली कांग्रेसका रसुवाका कोषाध्यक्ष समेत रहेको पत्ता लागेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको अपहरणकर्ता नुर्पुसिंगी तामाङ नेपाली कांग्रेस रसुवाको जिल्ला कार्य समितिका कोषाध्यक्ष हुन्।

३८ वर्षीय नुर्पु रसुवाको गोसाईंकुण्ड गाउँपालिका–१ भार्खुका स्थानीय हुन्।
 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्