Nic Ad Nic Ad
Nic Ad Nic Ad

असोजको विपद्पछि ११ अर्ब ८२ करोड बराबरको बीमा दाबी

मंगलबार, मंसिर ४, २०८१

काठमाडौं - असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट ११ अर्ब ८२ करोड ६ लाख ११ हजार ९३० बराबरको बीमा दाबी गरिएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म ६१ करोड सात लाख ९३ हजार ३८७ बराबरको दाबी भुक्तानी भएको छ। बिमा दाबी गर्दै तीन हजार ४१८ वटा निवेदन प्राप्त भएका छन्।

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ। सो कम्पनीमा ५०१ वटा दाबीका आवेदन परेका छन्। दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा १७६, सगरमाथा लुम्बिनीमा ३७७, हिमालयन एभरेष्ट २४३, नेकोमा २१९, युनाइटेड अजोडमा ३२३, सानिमा जिआइसीमा २१७ र आइजिआई प्रुडेन्सियलमा २९६ दाबी परेका छन्।

त्यस्तै, नेशनल इन्स्योरेन्समा ८६, एनएलजीमा १७२, नेपाल इन्स्योरेन्समा १७६, प्रभु इन्स्योरेन्समा १३७, राष्ट्रिय बीमा कम्पनीमा १७, स्टार माइक्रो इन्स्योरेन्समा १०, ट्रष्ट र नेपाल माइक्रो इन्स्योरेन्समा समान चार-चार वटा दाबी पर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा ७ वटा दाबी निवेदन परेका छन्।

कूल दाबीमध्ये ९०२ वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ । कूल एक हजार ६५३ वटा सम्पत्ति बिमा दाबी गरिएकामा ३९८ वटाको भुक्तानी भएको छ। कूल सम्पत्ति बिमा दाबी आठ अर्ब ७५ करोड ८७ लाख ५१ हजार २३४ भएकोमा ४६ करोड ७० लाख ९७ हजार ७८० रुपैयाँ मात्रै भुक्तानी भएको छ।

इञ्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ३०४ वटा दाबी परेका छन्। विशेष गरि बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेको थियो। अधिकांश ऊर्जा उत्पादक केन्द्रले बीमा गर्ने भएकाले पनि यो शीर्षकमा परेको दाबी भुक्तानीका लागि व्यवसायीहरुले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकोसमेत ध्यानाकर्षण गराएका छन्। दाबी भएकामध्ये ३८ वटाको तीन करोड ११ लाख २८ हजार ५५५ रुपैयाँ मात्रै भुक्तानी भएको छ।

मोटर बीमा निजीतर्फ ८८७ दाबी परेकामा २८० को ६ करोड १६ लाख ९७ हजार ५८७ भुक्तानी भएको प्राधिकरणको विवरणमा उल्लेख छ। मोटर बीमा सार्वजनिकतर्फ ३५० दाबी हुँदा ९१ वटाको ४३ करोड दुई हजार १७७ बराबरको भुक्तानी भएको छ।

पुशपन्छी बीमामा ५१ वटाको दाबी पर्दा २१ वटाको २४ लाख ९२ हजार ८५४ मात्रै भुक्तानी भएको छ। बाढीपहिरोका कारण पशुपन्छी र चौपायासमेत उल्लेख्य मात्रामा मरेका वा बेपत्ता भएका थिए।

त्यस्तै, सामुद्रिक बीमामा २२ वटाको दाबी पर्दा दुईको भुक्तानी भएको छ । कृषिबाली बिमातर्फ एक सय ३१ को दाबी हुँदा ६५ को भुक्तानी भएको छ। विविधतर्फ २० को दाबी पर्दा सातको भुक्तानी भएको छ।

प्राधिकरणका अनुसार कोशी प्रदेशमा २५१, मधेशमा १०१, वागमतीमा दुई हजार ९६८, गण्डकीमा ३३, लुम्बिनीमा ४८, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० वटा बीमा दाबी भएको छ।

अविरल वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भए पनि बीमाको पहुँच नहुँदा कम मात्रैले दाबी गर्न सक्ने अवस्था रहेको जनाइएको छ। वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको प्रदेश वागमती प्रदेश भएकाले पनि दाबी पनि बढी परेको प्राधिकरणले जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्