Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुख्य चार बुँदामा सशस्त्र प्रहरी बलसँग समझदारी गरेर फर्किए भारतीय एसएसबीका डीजी प्रसाद

मंगलबार, मंसिर ४, २०८१

काठमाडौं– सीमा सम्बन्धी विशेष चार बुँदामा सशस्त्र प्रहरी बल (एपीएफ)का महानिरिक्षक (आईजी) राजु आर्यालसँग समझदारीमा हस्ताक्षर गरेर भारत फर्किएका छन्, त्यहाँका सीमा सुरक्षा बल (एसएसबी) प्रमुख महानिर्देशक अमृत मोहन प्रसाद। 

शुक्रबार डीजी प्रसाद काठमाडौं आएका थिए। बैठकमा सीमा प्रशासनबारे छलफल भएको थियो।

यस पटकको बैठकमा सीमा सुरक्षा र सीमास्तम्भहरूको मर्मतसम्भारबारे छलफल भएको छ। 

लागुऔषध र साना हतियार औसारपसार, मानव बेचबिखन, अनौपचारिक व्यापार, तेस्रो मुलुकका नागरिकहरूको गैरकानुनी प्रवेशलगायतका विषयमा पनि कुराकानी सहित समझदारी बनेको छ। 

दुवै देशका अधिकारीहरू लागुऔषध र मदिरा ओसारपसार नियन्त्रणका लागि थप कदमहरू चाल्न सहमत बनेको अधिकारीहरूले बताएका छन्। उनीहरूका भनाइमा भारतको मुख्य चासो नेपाली भूमिबाट भारततर्फ जाने गाँजा र मदिरामा देखिएको थियो।

बीबीसी नेपाली न्यूजका अनुसार दुवै देशका अधिकारीहरू नेपाल–भारत खुला सीमाको प्रयोग गर्दै एकअर्काको देशमा हुन सक्ने तेस्रो देशका नागरिकहरूको प्रवेशलाई रोक्न सहमत भएका छन्।

विशेषगरी विभिन्न देशका शरणार्थीहरू भारतीय भूमि हुँदै नेपाल प्रवेश गरेपछि नेपाली पक्षले त्यसबारे छलफल गर्ने बताउँदै आएको थियो।

भारतले पनि नेपाली भूमि हुँदै तेस्रो देशका नागरिकहरू आफ्नो देशमा पस्ने अवस्था नबनोस् भनेर विशेष चासो व्यक्त गरेको थियो।

केही महिनाअघि बाङ्ग्लादेशमा विद्यार्थी नेतृत्वको आन्दोलन चर्किरहेको बेला नेपाली सीमामा अतिरिक्त सशस्त्र प्रहरीहरू परिचालन गरेको स्मरण गर्दै सहप्रवक्ता थापाले यसपटकको वार्तामा तेस्रो मुलुकका नागरिकसम्बन्धी विषय समेटिएको बताए।

यसैगरी, नेपाल र भारतको सीमा सुरक्षाको जिम्मेवारी पाएका दुवैतर्फका सुरक्षा निकायहरूले आधिकारिक रूपमा यकिन भइसकेका सीमास्तम्भहरूको मर्मतसम्भार र रङ लगाउने जिम्मेवारी पाएका छन्। त्यसैअनुरूप त्यसलाई व्यवस्थित गर्नेबारे छलफल भएको छ।

बिजोर नम्बरका सीमास्तम्भ हामीले र जोर नम्बरका भारतले मर्मतसम्भार तथा रङ लगाउने परम्परा छ त्यसैअनुसार त्यसलाई सहजीकरण गर्नेबारे छलफल भएको छ। 

यद्यपि हालसम्म दुवै देशका प्राविधिकहरू सम्मिलित एउटा सीमासम्बन्धी संयन्त्रले यकिन भएको भनेर प्रमाणीकरण गर्न बाँकी सीमास्तम्भहरू यी सुरक्षा निकायले मर्मतसम्भार गर्न पाउँदैनन्।

नेपाल र भारतबीच १८ सय किलोमिटर भन्दा लामो सीमारेखा रहेको छ र नेपालको तीन तिरको सिमाना भारतसँग जोडिएको छ। नक्साअनुसार नेपाल भारत सीमामा ८, ५५३ सीमास्तम्भ रहेको नापी विभागका निर्देशक तथा सूचना अधिकारी दामोदर ढकाल बताउँछन्।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्