Nic Ad Nic Ad
Nic Ad Nic Ad

रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप

बुधबार, मंसिर ५, २०८१

रामपुर (पाल्पा) - रामपुरका खेतबारीमा लहलहाएका काउली, बन्दा, साग, मुलामा झुसिल्किराको प्रकोप बढेपछि व्यावसायिक रूपमा सागसब्जी उत्पादनका लागेका किसानहरू नराम्ररी पिरोलिएका छन् । 

 रामपुर नगरपालिका-६ प्याक्लुककी अगुवा किसान राधिका बस्यालले काउलीमा झुसिल्किराको प्रकोपले सताएको दुखेसो गरिन्। “काउलीका बोट फस्टाएका छन् तर कीराका प्रकोपले फूल लाग्न पाएका छैनन् । कीरा मार्ने प्रयास जारी रहे पनि त्यसमा सफल भएका छैनौँ ।”

 

यसैगरी, रामपुर-५ स्थित राङभाङमा टिकीसरा गौतमको काउलीमा पनि झुसिल्किराले आक्रमण गरेको छ । व्यावसायिक उत्पादनमा लागेकी उनी पनि कीराले पिरोलिएकी छन् । उनी भन्छिन्, “बोट सप्रेका छन्, कीराको प्रकोपले उत्पादन नै नहुने हो कि भन्ने चिन्ता छ । 

झुसिल्किराको प्रकोप नियन्त्रण गर्न रामपुर नगरपालिका कृषि शाखाले स्थलगत निरीक्षण गरेको छ । पालिकाले किसानलाई नि:शुल्क विषादी वितरण गरेको शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए। बेमौसमी खेती भएकाले कीराको प्रकोप भएको उनले बताए । ‘इनामेक्टिन इन्जाइम बेन्जोइड’ विषादी प्रयोग गर्न किसानलाई सुझाव दिइएको उनले बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  ०८:३७
प्रतिक्रिया दिनुहोस्