आफ्नै पार्टीका मन्त्रीमाथि आरोप लगाएका सांसद बजगाईले मागे माफी
काठमाडौं - सांसद राजेन्द्र बजगाईंले आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् । आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै क्षमा मागेका हुन् ।
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले सांसद बजगाईंसँग स्पष्टीकरण लिएको थियो ।
केन्द्रीय अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगाना नेतृत्वको समितिले सांसद बजगाईंलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेमाथि लगाएको आरोपबारे स्पष्टीकरण सोधेको थियो ।
“सामाजिक सञ्जाल एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्तिउपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो,” बजगाईंले एक्समार्फत भनेका छन्, “मैले लगाएको आरोपले मन्त्रीजीलाई निकै चोट परेको पाएँ । त्यसकारण उक्त अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु ।”