'महाभारत'का अश्वस्थामाले गरे मेयर बालेनको तारिफ, अरु के–के भनेका छन्?
काठमाडौं– साउथ इन्डियन फिल्म, बलिउडमा भयानक भिलेनदेखि बहुचर्चित ‘महाभारत’मा अश्वस्थामाको अभिनयसम्म गरेका कलाकार प्रदीप रावतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको तािरफ गरेका छन्।
एक अन्तरवार्ताको दौरान उनले नेपालको नामका विषयमा खोजी गर्दा काठमाडौंका मेयर बालेनका बारेमा गुगलमा पढेको बताएका हुन्। नेपाली फिल्म ह्रश्व दीर्घमा पनि अभिनय गरेका उनले काठमाडौं आएका बेला दिएको अन्तरवार्तामा बालेनको तारिफ गरेका हुन्।
‘मैले काठमाडौंलाई गुगलमा खोज्दा तपाईको मेयर बालेनको बहुत चर्चा पाएँ। उनी म्युजिसियन पनि रहेछन्। नेपाली फिल्म उद्योगको विकासका लागि उनको योगदान रह्यो भने अझ व्यापक हुन्छ भन्ने विश्वास छ’, रावतले भनेका छन्।
नेपालका कलाकारको समेत उनले खुलेर तारिफ गरेका छन्। नेपालको फिल्म उद्योग निक्कै अगाडि जाने देखेको, यहाँका फिल्मकर्मी स्वीट्जरल्यान्डदेखि कहिँ जान आवश्यक नहुने रावतको भनाई छ।
उनी भन्छन्,‘नेपाल निक्कै सुन्दर छ। जंगल, नदीदेखि सबै सुन्दर छ। सुटिङका लागि दुनियाँमा कहिँ जानु पर्दैन। यो स्वर्ग जस्तो भूमीमा फिल्मको विकास गर्न सके निक्कै अगाडि जान्छ भन्ने देखाएको छु।’
नेपाली कलाकार तेलुगुका कलाकारभन्दा पनि मिहेनती रहेको पनि रावतको भनाई छ। अनुभवी, अभिनयमा खारिएका रावत भन्छन्,‘नेपालका कलाकारलाई, यहाँका मानिसलाई जसले माया र इज्जत दिन्छन् म स्यालुट गर्छु।’
उनले भारतमा र नेपालमा खाने चिज एउटै भए पनि यहाँ खाएको त्यहि खानेकुराको स्वाद अलग र मिठो रहेको बताएका छन्। रावत भन्छन्,‘त्यहि चिज मुम्बईमा खाँदा मिठो हुँदैन, यहाँ खाँदा निक्कै मिठो हुन्छ।’